काठमाडौं – विदेशी भूमिमा पसिना बगाएर घर फर्किएका एक नेपाली युवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनपेक्षित व्यवहार भोग्नुपरेको घटनाले प्रहरी संगठनभित्रै हलचल ल्याएको छ ।
मोरङका सञ्जय ओझा चैत ३१ गते दुबईबाट बिदामा काठमाडौं आएका थिए । अध्यागमन र भन्सारको प्रक्रिया सकेर उनी विमानस्थलबाहिर निस्कँदै गर्दा एउटा सानो विवादको सुरुवात भयो -ट्रली बाहिर लैजाने विषयमा । आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले उनलाई रोक्न खोजेपछि ओझाले प्रहरी बोलाएका थिए । तर, आशा विपरीत, प्रहरीबाटै दुर्व्यवहार भएको उनको गुनासो छ ।
यो घटनालाई उनले सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत सार्वजनिक गरेपछि व्यापक चासो बढेको थियो । त्यसको फलस्वरूप, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार विमानस्थल सुरक्षा जिम्मेवारीमा रहेका तीन जना प्रहरीलाई हटाइएको छ ।
उनीहरूलाई अहिले उपत्यका प्रहरी कार्यालयमा तानेर अनुशन्धान तथा छानबिन प्रक्रिया अघि बढाइएको छ । एसएसपी खनालका अनुसार घटनाको निष्पक्ष छानबिन हुनेछ, र दोषी उम्कने छैनन् ।
यो घटनाले वैदेशिक रोजगारीमा गएका युवालाई घर फर्किँदा पनि सम्मानजनक व्यवहार आवश्यक छ भन्ने कुरा फेरि एक पटक उजागर गरिदिएको छ ।