समाचार सुन्नुहोस :
काठमाडौँ – आज बिहान काठमाडौँ उपत्यका र वरपरका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्प नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा पर्ने चीनको डिङ्जे नामक स्थानमा केन्द्रबिन्दु भएर गएको थियो। मापन अनुसार, भूकम्पको परिमाण ५.० म्याग्निच्युड रहेको थियो। बिहान ठीक ४:०५ बजे काठमाडौँसम्म यसको ढक्का अनुभव गरिएको थियो।
यता पछिल्ला केही दिनयता जाजरकोट जिल्लामा पनि भूकम्पीय गतिविधि जारी छन्। मङ्गलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिका–पैंक केन्द्रविन्दु रहेको ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि, सोमबार राति ९:३१ बजे पनि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको थियो।
भूकम्पको यस्तो दोहोरिने क्रमले सर्वसाधारणमा व्यापक रुपमा त्रास फैलिएको छ।