समाचार सुन्नुहोस :
काठमाडौँ – वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै दुर्व्यवहार भएको छ। गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले लछारपछार गर्दै बुटले प्रहार गरेको भिडियो भाइरल बनेको छ। प्रहरीले भने उनलाई नियन्त्रणमा लिइएको, तर दुर्व्यवहार नभएको दाबी गरेको छ।
विमानस्थलका कर्मचारी र ट्याक्सी ड्राइभरसँग समेत बाझाबाझ गरेपछि प्रहरीले केही समय नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता लालध्वज सुवेदीले बताए। ‘विमानस्थलमा ओर्लिएपछि उनले लाइन बस्नुपर्ने बहानामा त सामान चेकजाँच गरेको बहानामा कर्मचारीहरूलाई कराउँदै आएका थिए। सुरुदेखि नै हाइपर देखिएका सञ्जयलाई पार्किङस्थलमा ट्याक्सी चालकमाथि पनि खनिएका थिए,’ उनले भने। धकेलाधकेल गरेको भिडियो बाहिरिएपछि त्यहाँ वरिपरि रहेको सबै सीसीटीभी फुटेज हेरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
‘बाहिर हल्ला भएजस्तो प्रहरीले स्वदेश फर्किएका युवालाई कुटपिट गरेको होइन। विमानस्थलमा अभद्र व्यवहार गरेपछि प्रहरीको सुरक्षा रूपमा लगेर सम्झाएको हो। ती व्यक्तिसँगै उनकी श्रीमती पनि आएकी थिइन्,’ प्रवक्ता सुवेदीले भने। ओझालाई श्रीमतीको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ।