समाचार सुन्नुहोस :
काठमाडौँ – शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सव समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।
वर्तमान समयमा केही सहकारीहरूमा देखिएको बदनामीप्रति चिन्ता व्यक्त गर्दै देउवाले भने, “सहकारीहरूले नकारात्मक छवि बनाउने काम गर्नुहुँदैन, बरु देश र जनताको हितमा समर्पित भएर काम गर्नुपर्छ।” सहकारीको मूल मर्म सामाजिक उत्तरदायित्व र आर्थिक समावेशीतामा आधारित हुन्छ र बीपीको नाममा स्थापना भएको संस्था त्यसै दिशामा अघि बढ्नेमा आफू ढुक्क रहेको देउवाले बताए।
उनले भने, ‘बीपी कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला बदनामी भइरहेको छ, यस्तो हुनुहुँदैन । बीपी कोइराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’