टोकियो – विदेशमा दुखजिलो गरी कमाएको पैसा वैधानिक च्यानल र सुरक्षित माध्यमबाट नेपाल पठाएर राष्ट्रको अर्थतन्त्रमा टेवा पुर्याउन रेमिट्यान्स ब्यवसायीहरुले अपिल गरेका छन् ।
बिहीबार साँझ टोकियोमा आयोजित एक अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा जापानका रेमिट्यान्स ब्यवसायीहरुले वैधानिक च्यानलबाट नेपाल पैसा पठाउँदा हुने फाईदा र अवैधानिक च्यानल प्रयोग गरेर पैसा पठाउँदा हुने उच्च जोखिम र राष्ट्रलाई हुने घाटाका बारेमा प्रकाश पार्दै वैधानिक च्यानलबाटै पैसा पठाएर राष्ट्रप्रति इमान्दार बनेर योगदान पुर्याउन उनीहरुले आग्रह गरेका हुन् ।
नेपाल रेमिटर्स एसोसियशनका अध्यक्ष रितेश मित्तलसंगको अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा रेमिट्यान्स ब्यवसायीहरुले वैधानिक च्यानल मार्फत पैसा पठाउन प्रोत्साहित गरिनुपर्ने र अवैधानिक च्यानललाई निरुत्साहित गर्दै जानुपर्नेमा जोड दिए । यस अभियानमा समाजका जिम्मेवार नागरिक अगुवा, मिडिया क्षेत्र र सरोकारवला सबैको साथ र समर्थनको खाँचो रहेको उनीहरुले औंल्याए ।
वैधानिक च्यानलबाट पैसा पठाउने सेवाग्राहीहरुलाई प्रोत्साहित गर्न थप सचेतनामुलक र ठूला स्केलमा प्रभावकारी कार्यक्रमहरुको नियमित आयोजना गरिनुपर्नेमा वक्ताहरुले रेमिट्यान्स ब्यवसायीहरुलाई सुझाएका छन् । वैधानिक तवरले पैसा पठाउने कल्चरको विकास गर्न सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने आकर्षक स्कीमहरु ल्याईनुपर्ने, सेवा शुल्क, इन्सेन्टिभ बोनस जस्ता आकर्षक योजनाहरु मार्फत वैधानिक च्यानललाई प्रोत्साहन गर्दै गएमा अवैधानिक च्यानल बिस्तारै निरुत्साहित हुनसक्ने कार्यक्रममा बोल्ने सहभागीहरुको धारणा थियो ।
कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका महेशकुमार श्रेष्ठ, जेएमइका ओम गुरुङ, नेपाल रेमिटर्स एसोसियशनका अध्यक्ष मित्तल, एनआरएन जापानका अध्यक्ष समेत रहेका जेनिथ रेमिटका नविन निउरे, फरेक्स जापानका बाबुराम पौडेल लगायतले वैधानिक च्यानलबाट पैसा पठाउनेहरुलाई प्रोत्साहित र अवैध च्यानललाई निरुत्साहित गर्दै जानुपर्ने र यसमा नेपाली समुदायले पनि साथ दिनुपर्ने धारणा राखे । जसअनुसार जापानको नेपाली कम्युनिटी, दूतावास, मिडिया र सरोकारवलाहरुबीच सहकार्य गरी अवैध च्यानललाई न्युनिकरण गर्दै जानुपर्नेमा सबैको जोड रह्यो । यसका साथै उनीहरुले नेपाल सरकारको समेत ध्यानाकर्षण गराई विदेशमा रहेका आफ्ना नागरिकहरुले वैधानिक च्यानलबाट मात्र पैसा पठाउन मिल्ने नीति बनाउन माग गरिनुपर्नेमा जोड दिए ।
अध्यक्ष मित्तलले नेपाल सरकारको समेत यस विषयमा पटक पटक ध्यानाकर्षण गराईएकोले ढिलाचाँडो सम्बोधन हुने अपेक्षा गरिएको बताए । उनले भने -‘जापानबाट हुण्डी कारोबारमा संलग्न ब्यक्तिहरुको जापान प्रहरीले लामो समयदेखि सुक्ष्म अध्ययन गर्दै आएकोले उनीहरुको पहिचान गरिसकेकोले अब छिट्टै एक्शनमा उत्रिने तयारी गरिरहेको विश्वस्त सूत्रबाट जानकारीमा आएको छ । अनियमित धन्दाको आयु लामो हुँदैन र साना माछा तर्साएर ठूला माछा भगाउनुभन्दा ठूलाबाटै सुरु गर्ने नीति अनुसार ढिला भएको भएता पनि अब एक्शनमा उत्रन मात्र बाँकी रहेको बुझिएको छ । नियमनभन्दा बाहिरका गतिबिधि नियन्त्रण गर्ने काम जापानको सुरक्षा निकायको भएकोले हामी आफ्नो काम मार्फत सेवाग्राहीलाई अधिकतम सेवा र सुविधा प्रवाह गरेर वैधानिक च्यानललाई नै स्थापित गराउन चाहान्छौ ।’
कार्यक्रममा पत्रकार तिलक मल्ल, लामो समय रेमिट्यान्स क्षेत्रको अनुभव संगालेका ब्यवसायी राजनकुमार श्रेष्ठ लगायतले आ-आफ्ना धारणा राखेका थिए । उनीहरुले नकारात्मक पाटोलाई न्युनिकरण गर्नका लागि सकारात्मक पाटोप्रति आकर्षण र दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिदैं यसका लागि रेमिट्यान्स ब्यवसायीहरुको भूमिका र पहलकदमी नै महत्वपूर्ण हुने बताए । एनआरएनए जापानको आयोजनामा भएको उक्त अन्तरक्रियात्मक भेटघाट कार्यक्रमको सहजीकरण रविन शर्माले गरेका थिए । ***