काठमाडौं – चीनको राजधानी बेइजिङमा तीनजना जापानी कपाल काट्ने पेशाकर्मीहरूलाई भिसाको सर्त विपरीत व्यापारिक गतिविधिमा संलग्न भएको आरोपमा चिनियाँ अधिकारीहरूले नियन्त्रणमा लिएका छन् । जापान-चीन सम्बन्धमा नजिकबाट जानकारी राख्ने श्रोतहरूका अनुसार, उनीहरूलाई आप्रवासन सम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग लगाइएको छ ।
मंगलबार पक्राउ परेका ती तीनजनालाई चिनियाँ प्रशासनले प्रारम्भिक रूपमा १४ दिनसम्म हिरासतमा राख्ने तयारी गरेको छ । जापानी दूतावासले उनीहरूलाई आवश्यक कूटनीतिक सहयोग पुर्याइरहेको जनाइएको छ ।
यसअघि पनि, फेब्रुअरी महिनामा ४० देखि ६० वर्ष उमेर समूहका तीन जापानी पुरुषहरूलाई भिसाको सर्तअनुसार अनुमति नदिइएको गतिविधिमा संलग्न भएको भन्दै चिनियाँ अधिकारीहरूले पक्राउ गरेका थिए । पछिल्ला घटनाहरूलाई ध्यानमा राख्दै चीनस्थित जापानी दूतावासले आफ्ना नागरिकहरूलाई गैरकानुनी व्यापारिक गतिविधिबाट टाढा रहन सचेत गराएको छ ।