काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका करका कारण विश्वभरि शेअर बजार धराशायी भएको छ । के त्यसको अर्थ विश्व आर्थिक मन्दीतर्फ उन्मुख हुँदै छ भन्ने हो त ?
हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो भने शेअर बजारमा भइरहेको कुरा अर्थतन्त्रका हकमा लागु नहुन सक्छ । घट्दो शेअरको मूल्यले आर्थिक सङ्कट निम्त्याउँछ नै भन्ने हुँदैन । तर कहिलेकाहीँ त्यस्तो हुन पनि सक्छ ।
अहिले विश्वका धेरै बजारमा जसरी शेअरको मूल्य घटिरहेको छ त्यसले विश्वभरि शेअर बजारमा सूचीकृत कम्पनीहरूले भविष्यमा कमाउने नाफामा ठूलो परिवर्तन हुने सङ्केत गर्छ । करका कारण लागत मूल्य बढ्छ र नाफा घट्छ भन्ने बजारले बुझेको हुन्छ ।
अहिलेको यसको अर्थ आर्थिक मन्दी अवश्यम्भावी हो भन्ने चाहिँ होइन । यद्यपि ट्रम्पले घोषणा गरेको एक शताब्दीयताकै सबैभन्दा व्यापक र कठोर करका कारण त्यस्तो सम्भावना उच्च छ ।
चीनले ट्रम्पले लगाएका आयात शुल्कको प्रतिकार गर्ने उद्घोष गरेपछि एशियाका केही शेअर बजारको स्थिति सुधारोन्मुख देखिएको छ । विश्वकै ठूला अर्थतन्त्र भएका यी दुई देशबीच ‘व्यापार युद्ध’ अझ चर्किने सम्भावना भएको विश्लेषकहरू बताउँछन् ।
आर्थिक मन्दी के हो ?
हाम्रो र सरकारको खर्च घटेको वा निर्यात लगातार दुई त्रैमासिक अवधिसम्म खुम्चिएको अवस्थालाई आर्थिक मन्दी भनिन्छ । गएको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको तीन महिनामा यूकेको अर्थतन्त्र ०.१ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको थियो । ज्यानुअरीको पछिल्लो मासिक तथ्याङ्कले त्यति नै मात्रामा अर्थतन्त्र खस्किएको देखाएको छ ।
आगामी शुक्रवार प्रकाशित हुने फेब्रुअरीको तथ्याङ्कले अर्को तीन महिनाको सङ्केत दिन्छ। त्यस कारण यूके तत्काल आर्थिक मन्दीको परिभाषाभित्र पर्ने सम्भावना देखिँदैन । यद्यपि शेअर बजार घटेर राताम्य बन्दा यसबाट हुन सक्ने क्षतिबारे चिन्ता देखिएको छ । ब्याङ्कहरूलाई अर्थतन्त्रका मानकको रूपमा लिइन्छ । ‘ब्याङ्कहरूको मूल्य घटेको कुराले म आत्तिएको छु,’ शेअर बजारका एक पर्यवेक्षकले भनेका छन् । -बीबीसी