नागोया – नागोया सेन्ट्रल अस्पतालको आयोजनामा जापानमा कार्यरत वरिष्ठ नेपाली न्युरोसर्जन डा. लुशुन चालिसेले मस्तिष्क रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रम आगामी अप्रिल २३ तारिख, नागोया स्टेशन नजिकै रहेको नागोया सेन्ट्रल अस्पतालको सभा हलमा आयोजना गरिने भएको हो ।
डा. चालिसेका अनुसार कार्यक्रममा मस्तिष्कसँग सम्बन्धित विभिन्न समस्या जस्तै- स्ट्रोक, पक्षघात, स्मरणशक्ति कमजोर हुने समस्या, टाउको दुख्ने र झमझमाउने समस्या तथा जटिल न्युरो सर्जरीका आधुनिक प्रविधिबारे जानकारी दिइनेछ । जापानभरि नै अत्याधुनिक प्रविधि र दक्षता प्रयोग गरी गरिने न्युरो सर्जिकल उपचारबारे उनले विस्तृत जानकारी प्रस्तुत गर्नेछन् ।कार्यक्रममा जापानी वरिष्ठ नागरिकहरूको सहभागिता अपेक्षित भएकाले अन्तरक्रिया जापानी भाषामा सञ्चालन गरिनेछ। सो अवसरमा प्रमुख डा. यामाओका समेत डा. चालिसेसँग सहकार्यमा रहने जनाइएको छ । कार्यक्रम नेपाली चिकित्सकद्वारा जापानमै आयोजित सम्भवतः पहिलो प्रत्यक्ष जनस्वास्थ्य अन्तरक्रिया कार्यक्रम हो ।
यसको प्रचारप्रसारका लागि नागोया ट्रेन स्टेशनजस्ता अत्यधिक भीडभाड हुने स्थानहरूमा डा. चालिसे र जापानी डाक्टरहरूको तस्बिरसहितको सूचनापाटी राखिएको छ, जसले लाखौं यात्रुहरूलाई जानकारी दिने अपेक्षा गरिएको छ । कार्यक्रममा अनलाइन मार्फत सहभागी दर्ता खुलाइएको छ, र हालसम्म उल्लेख्य सङ्ख्यामा सहभागिताको लागि नाम दर्ता भइसकेको अस्पताल स्रोतले जनाएको छ ।डा. लुशुन चालिसेले २००९ मा ओसाका विश्वविद्यालय, मेडिकल फ्याकल्टीबाट ‘डाक्टर अफ मेडिसिन’ उपाधि हासिल गरेका थिए । उनले २०१५ मा जापान न्युरोसर्जिकल सोसाइटीबाट बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी प्राप्त गरेपछि, २०१८ मा नागोया विश्वविद्यालयबाट न्युरो-अन्कोलोजीमा विद्यावारिधि (पीएचडी) पुरा गरेका थिए ।
यसपछि उनले टोक्यो विश्वविद्यालय अन्तर्गतको एडभान्स्ड क्लिनिकल रिसर्च सेन्टर, इनोभेटिभ क्यान्सर थेरापी डिभिजनमा उप-प्राध्यापकको रूपमा कार्य गर्दै IMSUT अस्पतालमा न्युरोसर्जनको भूमिका निर्वाह गरेका थिए। हाल उनी सन् २०२० देखि नागोया सेन्ट्रल अस्पतालमा कन्सल्टेन्ट न्युरोसर्जनका रूपमा कार्यरत छन् । साथै, उनी नेपाली मेडिकल एशोसिएसन, जापानका संयोजक पनि हुन् ।