टोकियो – जापानी सम्राट नारुहितोकी भतिजी राजकुमारी काको ब्राजिल भ्रमणमा जाने तय भएको छ । उनी जापान र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको १३०औँ वार्षिकोत्सवका अवसरमा आउँदो जुन महिनाको सुरुआतमा ब्राजिल जाने भएकी हुन् ।
राजकुमारी काको, जो युवराज फुमिहितो र युवराज्ञी किकोकी कान्छी छोरी हुन् । उनले ब्राजिलको राजधानी ब्रासिलियामा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई शिष्टाचार भेट गर्नेछिन् । यो उनको चौथो आधिकारिक विदेश यात्रा हुनेछ ।
करीब दुई हप्ता लामो रहने यस भ्रमणका क्रममा, राजकुमारी काकोलाई जापान–ब्राजिल कूटनीतिक सम्बन्ध स्थापनाको १३०औँ वार्षिकोत्सव सम्बन्धी एक विशेष कार्यक्रममा सहभागी हुनेछन् भने जापानी मूलका स्थानीय बासिन्दासँग भेटघाट गर्ने योजना छ । ब्राजिल सरकारले फेब्रुअरीको अन्त्यतिर आधिकारिक रूपमा निमन्त्रणा गरेपछि उनको भ्रमण तय गरिएको हो ।
जापान बाहिर जापानी मूलको सबैभन्दा ठूलो समुदाय ब्राजिलमा बसोबास गर्छ, जहाँ लगभग २७ लाख जापानी मूलका मानिसहरू रहेका छन् । जापानको विदेश मन्त्रालयका अनुसार, पहिलो जापानी आप्रवासी समूह आर्थिक मन्दी र जनसंख्या वृद्धिलाई सम्बोधन गर्न जापानी सरकारको प्रवर्द्धन कार्यक्रमअन्तर्गत सन् १९०८ मा ब्राजिल पुगेका थिए ।
यसअघि, सम्राट नारुहितो सन् २००८ मा, जब उनी युवराज थिए, जापानी आप्रवासनको १००औँ वार्षिकोत्सवका अवसरमा ब्राजिल गएका थिए । त्यस्तै, राजकुमारी काकोकी जेठी दिदी माको कोमुरो सन् २०१८ मा ११०औँ वार्षिकोत्सवका लागि ब्राजिल गएकी थिइन् । यसैगरी, युवराज फुमिहितो र युवराज्ञी किको सन् २०१५ मा जापान-ब्राजिल कूटनीतिक सम्बन्ध स्थापनाको १२०औँ वार्षिकोत्सवका अवसरमा ब्राजिल गएका थिए ।