नागोया – जापानको नागोयामा नेपाल फेस्टिभल जारी छ । आइतबारसम्म चल्ने फेस्टिभल पानी पर्ने चिन्ताले आयोजकलाई चिन्तित बनाएपनि मौसमले साथ दिएपछि दर्शकहरूको घुइँचो लागेको हो ।
फेस्टिभलमा शनिबार सबैभन्दा बढी आकर्षण नेपालबाट आएका चर्चित कलाकारहरू बद्री पंगेनी, सम्झना भण्डारी र राजु लामा लगायत कलाकारहरू रहे । दर्शकहरू उनीहरूको गीत संगितमा मस्त देखिन्थे । फेस्टिभल उद्घाटन पूर्व पञ्चेबाजा सहित विभिन्न जनजातिहरूको झाँकीले फेस्टिभल परिसर परिक्रमा गरेका थिए ।
फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू राखिएका छन् । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिभलमा जापनिजहरूले पनि मनोरञ्जन लिइरहेका देखिन्थ्यो । फेस्टिभल बार्दली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिन्थ्यो ।
फेस्टिभलको उद्घाटन प्रमुख अतिथि पूर्व गृह तथा रक्षामन्त्री डा. मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेस्टिभल आयोजक समिति संयोजक दीपक कार्कीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया








