टोकियो – कोरोना भाइरस (कोभीड-१९) को ‘इपिसेन्टर’ चीनको बुहान पुगेका ३० वर्षीय जापानी पुरुषलाई जनवरी ३ मा उच्च ज्वरो आयो । जनवरी ६ मा उनी स्वदेश फर्किए र जनवरी १० देखि १५ सम्म अस्पताल भर्ना भए । सोही क्रममा उनलाई कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको थियो ।
जापानमा पहिलो संक्रमण पुष्टि भएको आज दुई महिना १० दिन पुग्यो । यस अवधिमा एक हजार एक सय २८ जनामा मात्रै संक्रमणको पुष्टि भएको छ । जसमध्ये तीन सय एक जना उपचार गराएर घर फर्किएका छन् भने ४२ जनाको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जापानमा संक्रमण देखिएको दुई सातापछि (जनवरी ३१) इटालीमा पहिलोपटक दुई चिनियाँ नागरिकमा कोरोना पोजेटिभ देखियो। भ्रमणका लागि रोम पुगेका उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार थालियो । त्यसको एक सातापछि बुहानबाट फर्किएका एक इटालीका नागरिकमा संक्रमणको पुष्टि भयो । फेब्रुअरी पहिलो सातासम्म उनी इटालीका पहिलो नागरिक र देशभर कोरोना पोजेटिभ देखिएका तेस्रो व्यक्ति थिए ।
त्यसयता झन्डै ५ साताको आँकडा हेर्ने हो भने यहाँ संक्रमणको दर उच्च र भयावह छ । हालसम्म इटालीमा ७४ हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि हुँदा नौ हजार तीन सय ६३ जना मात्रै सञ्चो भएर घर फर्किएका छन् । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ । यो संख्या ‘मेनल्यान्ड’ चीनको भन्दा करिब दोब्बर हो । चीनमा भने संक्रमण देखिएका (८१ हजार २ सय ८५ जना) मध्ये ९१ प्रतिशत बिरामी (७४ हजार ५१ जना) स्वस्थ भइ घर फर्किएका छन् ।
इटालीमा सुरुमा लोमबार्डी क्षेत्रका ५० हजार जनतालाई क्वारेन्टाइनमा राखिएकोमा पछि यसलाई उत्तर इटालीभर फैलाइयो । संक्रमण दर उच्च रहेपछि हाल पूरा इटाली नै क्वारेन्टाइनमा छ । इटालीमा द्रुततर रुपमा संक्रमण फैलिनुमा समयमै होटल, पव, डान्सबार, रंगशालालगायत भिडभाड हुने क्षेत्रहरु बन्द नगरिनुलाई मानिएको छ ।
इटालीको जस्तै स्थिति अमेरिकामा पनि देखा पर्यो । जनवरी २० मा एक ३५ वर्षीय अमेरिकीलाई पहिलोपटक यो रोगको संक्रमण देखिएको थियो । वुहानबाट फर्किएको ५ दिनपछि उनलाई संक्रमणको पुष्टि भएको हो । यो क्रम यति बढेर गयो कि विश्वभरको सबैभन्दा धेरै अमेरिकीमा कोरोना पुष्टि भयो । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ ।
अमेरिकामा न्युयोर्क सबैभन्दा बढी चपेटामा परेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) का अनुसार मंगलबार अपरान्ह ४ बजेसम्मको तथ्याकअनुसार कूल संक्रमितमध्ये न्युयोर्कमा मात्रै ४८ प्रतिशतभन्दा बढी छन्। यो संख्या २६ हजार तीन सय ५८ हुन आउँछ । यही अवस्थालाई मध्येनजर गर्दै डोनल्ड ट्रम्प प्रशासनले न्युयोर्कका सबै बार तथा रेस्टुरेन्ट बन्द गराएको छ भने क्यालिफोर्नियामा घरबाहिर निस्कन बन्देज लगाएको छ ।
तर, जब हामी टोकियोतर्फ ढल्किन्छौं, यस्तो केही पनि देखिँदैन । ओलम्पिकलगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् । न कुनै क्वारेन्टाइन खडा गरिएको छ, न त बार, रेस्टुरेन्ट र क्लबहरुलाई समेत बन्द गर्न निर्देशन दिइएको छ ।
यदि तपाईं बिहान ४ बजे रामेन (एक प्रकारको जापानी चाउचाउ) खान चाहनुहुन्छ भने पनि सजिलै किन्न सक्नुहुन्छ । सब-वे केही खाली त देखिएको छ तर खुला छ । देशकै कुनै एक कुनाबाट कार भाडामा लिएर अर्को कुनामा पुगी फर्किन चाहनुहुन्छ भने पनि हुनै रोकतोक छैन । यसको मतलब यहाँ निर्वाधरुपमा अधिकांशले आफ्नो सामान्य दैनिकी चलाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ कि यहाँ पनि संक्रमण फैलने सम्भावना भने अन्य देश र सहरमा जत्तिकै छ ।
अब एउटा गहन प्रश्न उब्जिन्छ- अन्य देशहरुमा संक्रमण तीव्र भइरहेका बेला जापानमा भने अधिकांश क्षेत्र खुला हुँदा पनि किन संक्रमण दर न्यून र नियन्त्रणमा छ त? जब तपाईं कोरोना भाइरस सजिलै सबैतिर फैलनसक्छ भन्ने प्रमाण खोज्नुहुन्छ, ती प्रमाणहरुमा जापानलाई पनि अलग पाउनुहुन्न । कोरोनाको उद्गमस्थल चीनसँग नजिकको सम्पर्कमा छ जापान ।
यहाँका सहरहरु विशाल छन् र घना आवादी यहाँको अर्को विशेषता हो । साना-साना अपार्टमेन्टमा धेरै परिवार बस्छन् । अन्य देश र सहरको तुलनामा ट्रेनमा एकैसाथ धेरै यात्रु आवतजावत गर्छन् । काम गर्न जाँदा र अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न नभन्ने हो भने पनि ३८ मिलियन जनसंख्या रहेको राजधानी टोकियो र टोकियोवासी पुरै व्यस्त रहन्छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इटालीमा संक्रमण बढ्नुको एक कारण यहाँका नागरिकको उमेर पनि हो । सबैभन्दा धेरै औसत आयु हुने मुलुकमा इटाली युरोपमा पहिलो र विश्वमा दोस्रो स्थानमा आउँछ। वृद्ध मानिसलाई कोरोना संक्रमण र मृत्युदरसमेत बढी देखिएको छ । रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुने भएकोले वृद्धहरुले यो भाइरसका कारण हुने निमोनियाबाट पार पाउन मुस्किल पर्छ । यदि यही तथ्यलाई आधार मान्ने हो भने इटालीमा भन्दा जापानमा धेरै मानवीय क्षति र संक्रमण फैलनुपर्ने हो । किनकि जापान विश्वकै सबैभन्दा धेरै औसत आयु भएको मुलुक हो । तर, अवस्था त्यस्तो छैन ।
धुमपानलाई चीनमा धेरै मानिसको मृत्यु हुनुको साझा कारण मानिएको छ । मृत्यु भएका धेरै कोरोना संक्रमित चिनियाँहरुको धुमपानका कारण यसअघि नै फोक्सोमा समस्या थियो । तर, यही तथ्यलाई जापानसँग तुलना गर्ने हो भने मेल खाँदैन । यहाँ रहेका ३३ प्रतिशत धुमपानसँग सम्बन्धित उद्योगमा सरकारअन्तर्गत सञ्चालनमा छन् भने यसको प्रयोगसम्बन्धी कानूनसमेत फितलो छ । सन् २०१७ मा जापानका पुरुषहरुको धुमपानदर जी-७ मुलुकमध्येमा उच्च थियो ।
कोरोना भाइरस संक्रमण हुन नदिन जापान सरकारले आफ्ना नागरिकहरुमाथि कडा कदम उठाएको छैन भन्न मिल्दैन । तर, महामारी नियन्त्रणमा ल्याउन जसरी चीनले क्वारेन्टाइन र पूरा हुवेई राज्यलाई नै लकडाउन गर्यो, यात्रामा प्रतिबन्ध लगायो, जापानले भने यस्ता कुनै कदम चालेन ।
संक्रमण देखिएका देशका नागरिक अहिले पनि जापान घुम्न सक्छन् । तर, उनीहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । अझै पनि प्रश्न उब्जिन्छ कि किन फरक भयो त? किन जापानमा थोरैलाई मात्र संक्रमण पुष्टि भएको छ? यो प्रश्नको जवाफ खोज्दै जाने हो भने यहाँको रोग परीक्षण दरतर्फ इन्गित गर्छ । जापानमा कम परीक्षण हुनु नै यहाँ थोरैमा कोरोना संक्रमण देखिनुको कारण मानिएको छ । यसको सीधा सम्बन्ध यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुदसँग जोडिएको छ ।
जापान चाहँदैनथ्यो कि धेरै व्यक्तिमा कोरोना फैलिएको तथ्य बाहिर आएर ओलम्पिक आयोजनामा व्यवधान होस् । तर, अस्ट्रेलिया, क्यानडाले कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै आफ्ना खेलाडीलाई टोकियो नपठाउने घोषणा गर्नु, सबै क्षेत्रबाट चर्को दबाब आउनु र भयावह अवस्था आउनसक्ने डब्लूएचओको संकेतपछि जापानले जुलाई २४ बाट सुरु हुने ओलम्पिक आयोजना अर्को वर्षलाई सारेको छ । मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) अध्यक्ष थोमस बाखसँगको कुराकानीपछि जापानी प्रधानमन्त्री शिन्जो आबेले प्रतियोगिता स्थगित गर्ने बताएका हुन् । यो निर्णयले प्रतियोगिता र दर्शक सबैका लागि स्थिति सुरक्षित हुने उनले जनाएका थिए ।
यसअघि जापान सरकार र आईओसीले भने ओलम्पिक सुरु हुनु एक महिनाअघि प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो। सोही कारण पनि खेलाडी, अफिसियल र दर्शकलाई निर्धारित मितिमै खेल हुन्छ भन्ने आश्वस्त पार्न जापान आफ्नो मुलुकमा कोरोना संकट नरहेको देखाउन चाहन्थ्यो । यसका लागि पनि कम परीक्षण गरिएको हो । तर सबै देश र क्षेत्र लकडाउनको अवस्थामा रहँदा पछिल्लो समय जापान सरकार र आईओसी दुवै पक्षमाथि प्रतियोगिता सार्नेबारे चर्को दबाब परेको थियो ।
यस्तोमा खेलाडीले टोकियो ओलम्पिकका लागि भनेर तयारी गर्न पनि पाएका थिएनन्। सेन्केई पत्रिकाले जापानी नागरिकबीच गरेको मत सर्वेक्षणमा पनि ७० प्रतिशतले प्रतियोगिता सार्नु पर्ने बताएका थिए । छिमेकी मुलुक दक्षिण कोरियाले कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्य जाँच र परीक्षणमा जोड दिइरहेको छ । डब्लूएचओले समेत सबै देशहरुलाई जति धेरै परीक्षण गर्यो उति संक्रमण पुष्टि हुने र सोहीअनुसार सतर्कता अपनाउँदा भाइरसको फैलने सम्भावना घट्नेमा सचेत गराए पनि जापानले भने परीक्षणको दायरालाई फराकिलो बनाएको छैन ।
कोरोना भाइरससँग मिल्दोजुल्दो र स्पष्ट लक्षण देखिएका, कोरोना पोजेटिभ पाइएकाहरुसँग सिधा सम्पर्कमा रहेकाहरुलाई मात्र सेल्फ आइसोलेसनमा राख्दै न्यून मात्रामा मात्रै परीक्षण गरिएको छ । तर, संक्रमितबाट अन्यमा कोरोना भाइरस नसरोस् भन्नेमा भने जापान सचेत थियो । अहिले १०-१५ मिनेटमै नतिजा प्राप्त गर्न सकिने प्रविधिको विकास भइसक्दा पनि यहाँको पछिल्लो नियमानुसार सबै लक्षण देखिएका तथा कम्तीमा ४ दिनसम्म उच्च ज्वरो आएका बिरामीलाई मात्रै परीक्षण गरिएको छ ।
यदि सरकारको हालको परीक्षण नीति विफल हुने हो भने कोरोना भाइरस फैलनसक्ने अन्य कारकहरुबारे समेत अध्ययन गर्नुपर्ने हुन्छ । यसबाट सकारात्मक परिणाम निस्कन्छ भन्न सकिँदैन तर उत्कृष्ट मानिएको समग्र स्वास्थ्य प्रणाली र भिडभाड हुने मुर्दाघरको स्पष्ट तस्बिर भने देखा पर्छ । तर हालसम्म विफल हुने त्यस्तो कुनै प्रमाण भने भेटिएको छैन । यस अवस्थामा मुख्यगरी तीनवटा विचार सतहमा आउने देखिन्छ- षड्यन्त्र, सौभाग्य र प्रभावकारिता ।
षड्यन्त्रले के संकेत गर्छ भने यहाँ ठूलो संख्यामा बिनापरीक्षण, बिनाउपचार घरमै मानिसहरु मरिरहेका छन् अथवा अस्पतालमा मृत्युका झुठा तथ्यांक दिइएको छ । इटालीमा जस्तै मृत्युदर यहाँ देखिएमा यो विश्वास गर्न भने सकिँदैन कि राष्ट्रकै गहना मानिएका चिकित्सक मौन बस्नेछन्, बस्न सक्नेछन् । एक अधिनायकवादी सरकार आफ्ना जनतालाई त्यस सीमासम्म मात्र नियन्त्रित गर्न सक्षम हुने सपना देख्न सक्छ, जतिबेलासम्म वास्तविकता अप्राप्य हुन्छ । जसरी मृत्युलाई रोक्न चीनमा डाक्टरहरुले उपयुक्त समयमा आवाज उठाए, यहाँ पनि हामी उस्तै दृश्य अवश्य देख्नेछौं ।
दोस्रो विचारलाई सत्य मान्न पनि उति सजिलो छैन कि जापान सौभाग्यशाली छ । कतिपय सामाजिक व्यवहार, चलन र आनीबानीका कारण पनि यहाँ अन्य ठाउँमा जसरी रोगको संक्रमण नफैलिएको हो । भेटका क्रममा हात मिलाउनुको सट्टा टाउको निहुराउने, कोरोना भाइरसको संक्रमण देखिनु धेरैअघिदेखि नै मास्क लगाउने चलन हुनु, वृद्धवृद्धा बस्नलाई छुट्टै आश्रमको व्यवस्था हुनु तथा सेल्फ आइसोलेसन र सोसल डिस्टेन्स (सामाजिक दूरी) कायम हुनुले जापान सक्रिय प्रयासबिनै कोरोनाविरुद्धको लडाइँमा केही हदसम्म सफल भएको मानिएको छ ।
तेस्रो विचारतर्फ जाने हो भने पूर्वमौजुदा चलन र व्यवहार पालनामा जापानको पर्याप्त प्रयासले काम गरेको मान्न सकिन्न । उक्त लक्षित परीक्षणमा आवश्यक देखिएका सबै बिरामीलाई समाहित गर्नसक्नुपर्थ्यो । संक्रमित व्यक्तिसँग अन्य स्वस्थ व्यक्तिबीच हुने सम्पर्कलाई रोक्न भीडभाड हुने स्थानहरुलाई तत्काल बन्द गर्नुपर्थ्यो । तर, व्यक्तिगत र संस्थागत प्रयासमै सम्भावित गतिविधि, क्षेत्र र स्थलहरुलाई बन्द गराइयो, जसले रोग नियन्त्रण तथा सतर्कतामा सरकारको उच्चतम सहभागिताको आवश्यकतालाई स्वतः घटाउने काम गर्यो ।
तर, कोरोना भाइरस अन्य जनतामा सर्दैन भनेर सरकारले विश्वास दिल्याउन सफल हुन्छ त? हालको अवस्थाले भने भयानक अनिश्चिततातर्फ डोर्याइरहको जस्तो लाग्छ । भाइरसको संक्रमण फैलिन नदिन सरकारले सबै जनतालाई उच्च सतर्कता अपनाउनतर्फ सजग गराउनु जरुरी छ । प्रश्न उब्जिन्छ- यो अवस्था कहिलेसम्म रहला ?
फैब्रुअरी अन्तिम साता प्रधानमन्त्री आबेले घोषणा गरेको दुईदेखि तीन हप्ताको संवेदनशील समयावधि गुज्रिसकेको छ । बन्द गरिएका केही स्कुल पनि खुल्ने चरणमा छन् । टोकियोको शिन्जुकु स्टेसन वा शिवुया क्रसिङमा यात्रुको भिड बढेको छ । यसै सातामात्रै तीन दिनसम्म परेको सार्वजनिक बिदा धेरैले रमाइलो गरी मनाएका छन् । यो हनामी सिजन (चेरी फूल्ने याम) को सुरुवातसमेत हो । यो समयमा चेरीका रुख र पार्कमा पिकनिक र पार्टी गरिन्छ ।
टोकियोको विशालमध्येको एक पार्क शिन्जुकु ग्योनमा मानिसहरुको भिड लाग्न सुरु भएको छ । चेरी फूलेको मनमोहक वातावरणको आनन्द लिन तथा फोटो खिचाउन धैरैजना पार्कमा व्यस्त देखिन्छन् ।
जब सरकारले आधिकारिक रुपमा हनामीयामका अवसरमा गरिने सबै कार्यक्रम रद्द गर्यो, यहाँको संस्कृतिजस्तै बनेको पिकनिकलगायतका कार्यक्रम पनि बन्द गर्नमा स्थानीयले संयममता अपनाउलान् भनेर सहजै विश्वास गर्नसक्ने अवस्था छैन । जापानले हालसम्म कोरोना भाइरसको भवितव्य रुप सामना गर्नुपरेको छैन, अध्ययनका अनुसार यो हालसम्म पनि कायम छ, के यो अवस्था विश्वकै लागि उत्प्रेरक होला ?








