काठमाडाैं – नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ । रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन । यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन ।
यो कमिला केही समय अघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए । नेपालमा दुई किसिमका कमिला छन्। एउटा वनस्पतिलाई नोक्सान गर्ने र अर्को नगर्ने । नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन् ।
‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएको हुनसक्छ,’ उनी भन्छन्, ‘वनस्पतिका लागि यो खतरापूर्ण छ । यसले सागपातलगायत वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौँ ।’ विदेशबाट भित्रिने काठसँगै यो कमिला पनि नेपालसम्म आइपुगेको हुनसक्ने अध्यक्ष घिमिरेको अनुमान छ ।








