काठमाडाैं – राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन् । निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ। तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् ।
राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरू भने अझै तातेका छैनन् ।
अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले दुई नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको छ । प्रदेश २ बाट नेकपा र राजपाले २-२ सिटमा तालमेल गरेका छन् । यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ ।
महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बिहीबार बस्ने सचिवालय बैठकमा राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुनेछ । पार्टीका प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न नेकपाले पहल गरेको छैन । ‘तल्लो कमिटीका साथीहरूका भावना समेटेर उम्मेदवार तय गर्छौं’, महासचिव पौडेलले भने । टिकट पाए चुनाव जित्ने निश्चित जस्तै रहेकाले टिकट पाउन शीर्ष नेताकोमा दौडधुप भइरहेको नेताहरूले बताएका छन् ।
यता विपक्षी कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छैन । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार २ नम्बर प्रदेशमा समाजवादी पार्टीसँग चुनावी तालमेलको तयारी भइरहेको छ । तर, कांग्रेस र समाजवादी मिले पनि दुई नम्बर प्रदेशमा चुनाव जित्ने सम्भावना कम छ । राजपा र समाजवादीले पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।
राष्ट्रिय सभा सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो । सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तह (गाउँपालिका-नगरपालिकाका) का प्रमुख र उपप्रमुख मतदाता हुन् । ७ सय ५३ स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रिय सभा मतदाता हुन् । स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ ।








