काठमाडौं – ठूला भ्रष्टाचारका मुद्दामा राष्ट्रिय सहमति हुने गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले सार्वजनिक गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा मंगलबार उनले यस्तो बताएका हुन् । मुलुकमा ठूलाठूला भ्रष्टाचार सबै राजनीतिक दलको सहमतिमा हुने गरेको भन्दै नेता भुसालले यस्तो घोटला रोक्न कठिन हुने गरेको बताए । कानुनको पालनामा भएको बलमिच्याइँका कारण राज्य र समाजमा व्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमतिबिना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे । ‘अर्बभन्दा माथिको भ्रष्टाचार ब्युरोक्रेसीले मात्र गर्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यद्यपि कारबाही भयो भने ब्युरोक्रेसीका मान्छे पर्छन्, माथिको मान्छे कम पर्ने गरेका छन् । तर, यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैनन्, एक हिसाबले भन्न सकिन्छ, त्यसमा राष्ट्रिय सहमति बन्छ ।’
प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै नेता भुसालले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताएका छन् । ‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्,’ उनले भने ‘उनीहरू आफू करप्ट छैनन्, अरूलाई करप्ट बनाउँदैछन् ।’ दलहरूकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले बलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए । उनले भने, ‘यो नतोड्ने हो भने ऐतिहासिक रूपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा (भ्रष्टाचारमा) पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ ।’दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै नेता भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए ।








