काठमाडाैं – संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । लामो समयदेखि रिक्त सर्वोच्चको नेतृत्वबारे निर्णय गर्न आज बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशका लागि सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले पठाएको थियो । उनीहरुमध्ये वरीयताक्रममा पहिलो नम्बरमा रहेका जोशीलाई सिफारिस गरिएको हो । सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि अब संसदीय सुनुवाइ गर्दै राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त पनि सिफारिस गर्ने भनिए पनि यसबारे निकट भविष्यमा परिषद्को अर्को बैठक बसेर निर्णय गर्ने जनाइएको छ ।








