काठमाडाैं – पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मिडिया आफैले कोड अफ कन्डक (आचारसंहिता) बनाउने पर्ने आवश्यकता भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्दे उहाँले भन्नुभयो, ‘मिडियाको पनि एउटा समस्या नै भएको छ ।
कहिले काही त उल्टो पाल्टो नै हुने गरेको छ । त्यसैले कोड अफ कन्डक बनाउनुस ।’ काम नगर्ने निर्माण व्यवसायीलाई गृहमन्त्री रामबहादुर थापाले कारवाही गर्न थालेपछि तपाइँले आफ्ना घरबेटी निर्माण व्यवसायीलाई कारवाही नगर्नुस भनेर गृहमन्त्रीलाई भेटेर कुरा गरेको हो भन्ने पत्रकारहरुको प्रश्न सुनेपछि अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । उहाँले राम्रो काम नगर्ने निर्माण व्यवसायी जो सुके भए पनि कारावाही हुने र आफुले गृहमन्त्रीलाई केही निर्देशन नदिएको बताउनुभयो ।
‘त्यसैले मैले अल्ली अस्ति पनि पत्रकारहरुले आफैले आचारसंहिता बनाउनु पर्यो भनेको हो । सरकारले प्रेसलाई नियन्त्रण गर्ने, अंकुश लगाउने कुनै मनसाय राखेको छैन । तर प्रेसको पनि आफ्नै मुल्य, मान्यता, मर्यादा र त्यसको आचासंहिता हुन्छ । यो कुरा प्रेस आफैले निधो गरोस’ दाहालले भन्नुभयो । झुठा र उल्टा कुराहरु समाजमा फैलनबाट रोकिनु पर्ने उहाँले बताउनुभयो । उहाँले हालै पारित संसदीय नियमावलीका बारेमा पनि पत्रकारहरुले जनतालाई राम्रोसँग कुरा नबुझाएको बताउनुभयो ।








