काठमाडाैं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक वर्ष सम्भाव्यता अध्ययनमै केन्द्रित भएर सरकारले बजेट निर्माण गर्न लागेको बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले सम्भाव्यता अध्ययन गर्दै बृहत गुरुयोजना निर्माण गरिसके पछि मात्रे विकास आयोजना सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले अबको एक वर्ष सडक, जलविद्युत, कृषि, पर्यटन, जडीबुटी लगायत क्षेत्रको एकीकृत गुरुयोजना निर्माण गरिने बताउनुभयो । कर्णालीलाई अहिलेसम्म अथाह सम्भावनाको खानी भनिएपनि सम्भावनाको उपयोग गर्नेबारे कुनै अध्ययन नभएको उहाँले गुनासा गर्नुभयो । मुख्यमन्त्री शाहीले वास्तविकता अध्ययन गरे मात्रै प्रदेश सरकारले बजेट लगानी गर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माण गरिरहेको जानकारी दिंदै अबको बजेट वितरण भन्दा पनि उत्पादनमुखी हुने बताउनुभयो ।
‘सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले उत्पादनमुखी बजेट ल्याउन प्रेरित गरेको छ,’ उहाँले भन्नुभयो, ‘शुरुका एक वर्ष प्लानिङ गर्छौं, अध्ययनकै वर्षका रुपमा काम गर्छौं ।’ प्रदेश सरकार विभिन्न समस्यासंग जुध्दै आइरहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘केन्द्र सरकारले अधिकार दिन मानेको छैन् । हातखुट्टा बाँधिएको अवस्थामा छौं ।’ प्रदेश सरकारले स्रोत साधन, संरचना नभएपनि कर्णालीको विकासका लागि आफूहरुले जबरजस्ती काम गरिरहेको उहाँको भनाई थियो ।








