काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दावी गर्नुभएको छ । आज गृहजिल्ला डडेल्घुरामा जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस सांगठनिक हिसाबले कमजोर नबनेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस कमजोर नेको छैन, अब पुरानै अवस्थामा फर्काउँछु’ पार्टी एक ढिक्का बनेर अगाडि बढे छिट्टै कांग्रेस पहिलेकै अवस्थामा पुग्ने उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले काम गर्ने नाममा आफूले ल्याएका कार्यक्रम सहित हटाइदिएको आरोप लगाउनुभयो ।
यो सरकारले जनताका पक्षमा काम गर्न नसक्ने भन्दै उहाँले आफूले बढाएको सामाजिक सुरक्षा भत्ता हटाएकोप्रति आक्रोश ब्यक्त गर्नुभयो । सरकारका कामकारबाही आफूले हेरिरहेको भन्दै उहाँले तीन महिनामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा जनतासमेत मुकदर्शक बनेको बताउनुभयो ।








