काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा पुरा हुने गरेर काम गर्न प्रदेश सांसदहरुलाई आग्रह गर्नुभएको छ । ठूलो परिवर्तन पछि अत्यन्तै महत्वपूर्ण अवस्थामा अहिलेका जनप्रतिनिधिहरुको भूमिका सिर्जना भएकोले सोही बमोजिम काम गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रदेश एकको संसद बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जपक्षीय प्रणाली बनाएरु काम गर्नपनि आग्रह गर्नुभयो । ‘पहिलोको जस्तो अनुपयुक्त प्रणाली होइन, जनपक्षीय प्रणाली बनाएर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । उहाँले प्रदेश एकको प्राकृतिक अवस्था असाधारण भएकोले आफ्नो प्रदेशको सम्पत्तिको उचित प्रयोग गरेर देखाउन पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नागरिकलाई आतंकित पार्ने, हिंसाको कुरा गर्नेलाई निर्वाचित सरकारले नछाड्ने चेतावनी दिनुभयो । विप्लव प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कोही चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताउनुभयो । अब नागरिकको शासन स्थापित भइसकेको भन्दै उहाँले अब कसका लागि आन्दोलन, कस्का लागि क्रान्ति भन्दै प्रश्न पनि गर्नुभयो ।
सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्दै उहाँले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने बताउनुभयो । सबैको सहभागितामा देशविकासमा सरकार लागिरहेको भन्दै उहाँले नागरिकलाई आतंकित पार्दै हिंसाको कुरा गरेर अनुचित बाटोमा नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।








