काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको पहिलो गीत सार्वजनिक भएको छ । आफ्नै कम्पोजिसनमा उनले गाएको यो ‘उदास’ बोलको गीत युट्यूबमार्फत् सार्वजनिक गरिएको हो । गीत बिनोद तिमिल्सिनाले लेखेका हुन् । सन्दीपले ट्वीट गर्दै भनेका छन्, ‘पहिलो गीत सार्वजनिक गर्न पाउँदा म धेरै खुसी छ। मलाई समर्थन गर्ने सबैलाई धन्यवाद ।’
दुई साताअघि उनले एक कार्यक्रममा ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत गाएका थिए । योसँगै उनले आफ्नै गीत कम्पोज भइरहेको र चाँडै रिलीज हुने बताएका थिए। ‘उदास’ गीतको ट्रेलर गत चैतमै सार्वजनिक भएको थियो । क्रिकेटसँगै गायन पनि आफ्नो शोख भएकाले अब एल्बम निकाल्ने योजना रहेको पनि उनले बताएका थिए । लेग स्पीनर सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
१७ वर्षिय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले तीन सिजनका लागि प्रतिवर्ष २० लाख भारुमा किनेको हो । सुरुआतमा प्लेइङ ११ मा पनि नपरेका सन्दीपले अन्त्यमा तीन खेल खेले । तीनै खेलमा उत्कृष्ट प्रदर्शन गरेर प्रशंसा बटुलेका सन्दीपले गत साता नै अन्तराष्ट्रिय टी ट्वान्टीमा पनि डेब्यू गरिसकेका छन् ।








