काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । नेता पाण्डेले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको हो ।
आज काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको पनि स्मरण गराउनुभयो । नेता पाण्डेले जनताको सही सूचना पाउने अधिकारलाई हनन् हुन नदिन पनि पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताउनुभयो ।








