काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सबै मन्त्री तथा मन्त्रालयका सचिवहरुलाई राखेर यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री र सचिवहरुलाई संयुक्त रुपमा निर्देशन दिँदै असार १५ भित्र कार्ययोजना बुझाउन निर्देशन दिनुभयो । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको कार्यतालिका, संरचनागत तयारी, कर्मचारी व्यवस्थापन, कानुन निर्माणलगायत काम गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ । असार २५ भित्र सबै काम गरिसक्ने गरी काम अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको खतिवडाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कार्ययोजना बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । उहाँले असार १५ भित्र सबै मन्त्रालयका सचिवलाई पनि आफ्नो मन्त्रालयको कार्ययोजना पेश गर्न निर्देशन दिनु भएको छ । बजेट अहिले संसदमा छलफलको क्रममा छ भने नीति तथा कार्यक्रम पारित भइसकेको छ ।








