काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताउनु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी दश वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘देशमा भएको साधन स्रोत र जनशक्तिको सही परिचालनबाट आउने एक दशक भित्र आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव छ ।’ उहाँले भन्नुभयो, ‘अहिले सरकार दुई तिहाई बहुमतको छ । लामो समयपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको छ । सरकार र सबै राजनीतिक दलहरुले देशको स्थिरता, सुशासन र आर्थिक विकास यतिबेलाको मूल एजेण्डाका रुपमा मानेका छन् ।’
उहाँले देशको आर्थिक विकासका लागि सकारात्मक वातावरण बनाउन छिमेकीहरुसँग सरकार र पार्टी दुबैको तर्फबाट राम्रो सम्बन्ध रहेको बताउनुभयो । ‘अहिले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्धको विकास भएको छ । हामीलाई दुबै देशको आर्थिक विकासबाट लाभान्वित हुने अवसर छ । केही समयअघि हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र छिट्टै फेरि चीनबाट पनि उच्चस्तरीय नेपाल भ्रमण हुनेछ ।
यी भ्रमणहरुले पनि आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाउने छन् ।’ देशको आर्थिक विकास गरी ठूलो मात्रामा रोजगारी सृष्टि गर्न अन्तर्राष्ट्रिय रुपमा पनि आफूहरुको पहलकदमी भएको उहाँको भनाई थियो । ‘यसबाट सुधारात्मक ढंगले मात्र नभई नयाँ र क्रान्तिकारी तरिकाले आर्थिक विकास हुने सम्भावना रहेको अध्यक्ष दाहालले बताउनुभयो ।








