एघारौं अधिवेशनद्वारा संस्थाको नाम संशोधन
टोकियो – अध्ययन, ब्यवसाय तथा रोजगारीका लागि दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको संगठन म्याग्दी समाज समितिको शनिवार सम्पन्न एघारौं अधिवेशनले लोकबहादुर बानिया ’आलोक’ को नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
विगत १६ बर्ष देखि दक्षिण कोरियामा क्रियाशील समितिको राजधानी सउलस्थित दुर्गा रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले सर्बसम्मत ढंगबाट बानियाको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन भएको हो ।
अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्ष त्रयमा कृष्ण खड्का (घार), अमर छन्त्याल (गुर्जा), किसान सेन्चुरी (दरबाङ) चयन हुनुभएको छ भने सचिवमा राजकुमार फगामी (देविस्थान), कोषाध्यक्षमा चम पुर्जा (गलेश्वर), सहकोषाध्यक्षमा दुर्गा भण्डारी (मुना), सहसचिवमा रोशनी केसी (दरबाङ) र प्रवक्तामा सुनेश खत्री (ताकम) सर्बसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सनम शाक्य (बेनी), छकप्रसाद छन्त्याल (गुर्जा), मिलन सापकोटा (ज्यामरुककोट खबरा), अमित पौडेल (पुलाचौर), टुकप्रसाद छन्त्याल (गुर्जा). मनिष गौचन (कुहुँ पूर्णगाउँ), हेम रोका (बरङ्जा), सविन पुन (दरवाङ) र मीन कार्की (पिप्ले) चयन हुनुभएको छ ।
अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै म्याग्देली प्रवासी नेपाली संघ (मोना) का अन्तर्राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष विनोद कुँवरले विश्वभर छरिएर रहेका म्याग्देलीहरू एकजुट भएर जिल्लाका विविध क्षेत्रमा सहयोग गर्नुपर्ने बताउनुभएको थियो । यसैगरी विशेष अतिथि समितिका संरक्षक भरत तुलाचनले कोरियामा रहेका म्याग्देलीहरुको उदाहरणीय एकता र सक्रियताले हरेक कार्यक्रम सफल हुँदै आएको बताउनुभयो । कार्यक्रममा आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष भक्त शेरचन, पुन क्लवका अध्यक्ष एवम् समितिका पूर्व अध्यक्ष नरबहादुर पुन लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यवाहक अध्यक्ष लोकबहादुर बानियाको सभापतित्वमा सम्पन्न अधिवेशनमा कृष्ण खड्काले स्वागत मन्तब्य तथा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने किसान सेन्चुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
यसैगरी अधिवेशनले संस्थाको नामलाई परिमार्जन गरेको छ । मोना आइइसीका बरिष्ठ उपाध्यक्ष कुँवरले संस्थाको नामाकरण परिमार्जन गर्न राख्नुभएको प्रस्तावलाई सर्बसम्मतिले पारित गरेको हो । अधिवेशनद्वारा पारित भई संशोधित नामअनुसार अब म्याग्देली प्रवासी संघ (मोना) कोरियाको नामले अगाडि बढ्ने जानकारी गराईनुका साथै सोही नाममा नवगठित कार्यसमितिको सपथ ग्रहण गराईएको थियो ।
समितिको पहिलो बैठकले आवश्यक मनोनित सदस्य र सल्लाहकार चयन गरिने नवनिर्वाचित अध्यक्ष बानियाले समुद्रपारिलाई बताउनुभयो । अधिवेशन समारोहमा सचिव पुष्कल पुनको सञ्चालन रहेको थियो ।
कोरियामा रहेका म्याग्देलीहरुको एकता र सक्रियताले जिल्ला अस्पताल म्याग्दीमा आकस्मिक कक्षको निर्माण गरिनुका साथै म्याग्दी बहुमुखी क्याम्पसमा छात्राबास निर्माण गरिएको छ भने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था हुँदै आएको छ ।
संसारभर छरिएर रहेका म्याग्देली संघसंस्थाहरुको छाता संगठनकारुपमा म्याग्देली प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको गत अक्टोबरमा जिल्ला सदरमुकाम बेनी बजारमा प्रथम ग्लोबल सम्मेलन सम्पन्न भएको थियो । सो सम्मेलनले बिभिन्न मुलुकमा रहेका म्याग्देली संघसंस्थाहरुलाई नामाकरणमा सकेसम्म एकरुपता कायम गर्न अपिल गर्ने, साँगठानिक स्वरुपमा केन्द्रकारुपमा मोना आइइसी र राष्ट्रिय समितिकारुपमा मोना एनइसी रहने प्रावधान कायम गरेको छ ।
यद्यपि प्रवासमा रहेका म्याग्देली बुद्धिजीवीहरु भने नामलाई भन्दा कामलाई प्राथमिकता दिईनुपर्ने, बिदेशमा दशकौंदेखि जुन जुन नामबाट म्याग्देलीहरुको पहिचान स्थापित गर्दै संगठित हुँदै आएका छन् उनीहरुलाई नाम फेर्न बाध्यकारी बनाईन नहुने धारणा ब्यक्त गर्दै आईरहेका छन् ।
यसैबिच म्याग्देली सञ्जाल जापानको पनि आगामी महिना अधिवेशन हुने चर्चा छ । सो अधिवेशनले नयाँ नेतृत्वको चयन गर्नुका साथै संस्थाको नामावली संशोधन गर्ने बिषय पेचिलो ढंगले उठ्ने बुझिएको छ । अधिवेशनका बिषयमा सञ्जालले आधिकारिक जानकारी बाहिर नल्याएको भए पनि अप्रिलको पहिलो साता हुने अधिवेशनमा बेल्जियम, बेलायत, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, हङकङ, कोरियामा रहेका मोनाका केन्द्रीय नेताहरु जापान आउने तयारी भईरहेको स्रोतले बतायो ।
म्यागासेसे विजेता डा. महाबीर पुनको अवधारणा बमोजिम म्याग्दी जिल्लालाई नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने महत्वाकाँक्षी परियोजना मोना र जिबिस म्याग्दीको सहकार्यमा सम्पन्न गर्ने सहमतिपत्रमा हस्ताक्षर भईसकेको छ । सो प्रोजेक्टलाई सम्पन्न गर्ने अभियानमा हातेमालो गर्न मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले संसारभरि छरिएर रहेका म्याग्देलीहरुलाई अपिल गर्नुभएको छ । त्यसबाहेक जिल्लालाई पर्यटकीय जिल्लाकारुपमा बिकास गर्ने मोनाको अर्को महत्वपूर्ण एवं दीर्घकालिन योजना रहेको छ । ***









