काठमाडौं–प्रधानमन्त्री डा. बाबुराम भट्टराई र जापानका परराष्ट्र मन्त्री कोईचिरो गोम्बाबीच आइतबार भेट वार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे जानकारी गराउनु भएको थियो । उहाँले शान्ति र संविधान निर्माण प्रक्रियाको पूर्णता पछि नेपाल आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढ्ने
बताउँदै जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको जानकारी दिँदै भ्रमण बर्ष सफल बनाउन जापानको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

जापानले नेपालको आर्थिक विकासका लागि गर्दै आएको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जलविद्युत, सडक निर्माण, लुम्बिनीको विकासको क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
जापानी लगानीकर्ताहरुका लागि सहज वातावरण बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरुलाई मद्दत पुग्ने खालको जापानी सहयोगको लागि पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले शान्ति र लोकतन्त्रको पक्षमा नेपाल र जापान एक अर्कामा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
जापानी परराष्ट्रमन्त्रीले नेपालमा चलेको शान्ति र संविधान निर्माण प्रक्रियाको सफलताको शुभकामना दिनुभयो । उहाँले आर्थिक विकासको लागि नेपाललाई सँधै सहयोग गर्न जापान इच्छुक रहेको पनि बताउनुभयो ।