
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा सभापति कोइरालाले भने- ‘शान्ति प्रक्रिया टुङगिन नसके प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन । शान्ति प्रक्रियामा लिङगरिङ गरेर प्रधानमन्त्री पदमा टिकिरहने प्रधानमन्त्रीको चाहना हो भने कांग्रेस पर्खेर बस्न सक्दैन ।’
कोइरालाले शान्ति प्रक्रिया निष्कर्समा पुगे सहमतिको सरकारको लागि वातावरण बन्ने उल्लेख गर्दै नेपाली कांग्रेस शान्ति प्रक्रिया नटुङगीकन सरकारमा नजाने स्पष्ट पारे ।
माओवादीले जहिले पनि प्रक्रिया अगाडि बढ्ने बेलामा नयाँ नयाँ शर्त राखेर अवरुद्ध गर्ने गरेकोले समस्या उत्पन्न हुने गरेको भन्दै स्वेच्छिक अवसकामा जानेलाई विदाई दिने काम सकिएपछि दर्जाको कुरा उठाएर फेरि माओवादीले समायोजनको प्रक्रिया अवरुद्ध गरेको आरोप कोइरालाको थियो ।
उनले माओवादीले मागे अनुसारको लडाकुलाई दोस्रो कमाण्ड दिनै नसकिने स्पष्ट पार्दै माओवादी लडाकुलाई दोस्रो कमाण्ड दिनु भनेको नेपाली सेनालाई अपमान गर्नु भएको बताए ।
उनले भने- ‘माओवादी लडाकुलाई दोस्रो दर्जा दिनु भनेको संबेदनशिल कुरा हो । यसले नेपाली सेनालाई डिमोरलाइज गर्छ । यो काग्रेसले स्विकार्न सक्दैन ।’
कोइरालाले वाईसीएललाई पूर्व लडाकु भएको नाममा राज्यकोषबाट राहत दिने कुरा कांग्रेसले अस्विकार्य हुने भन्दै राज्यको कोषबाट कुनै पनि ब्यक्तिलाई रकम दिने कुरा हुनै नसक्ने बताए ।
जेठ १४ गतेभित्र संविधान जारी गर्नुको विकल्प दलहरुसँग नभएको भन्दै सो अवधीमा संविधान जारी हुन नसके अब कुनै पनि बहानामा संविधानसभाको म्याद नथपिने स्पष्ट पारे ।