
महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकाएर सोमबार जिल्ला न्यायाधिवक्ता कार्यालय काठमाडौंमा पठाएको प्रतिवेदनमा रञ्जनकी प्रेमिका तारा रेग्मीलाई समेत सहअभियुक्त बनाइएको छ। रञ्जन माघ ८ र तारा माघ २५ गते पक्राउ परेकी थिइन्।
काठमाडौं परिसरका प्रमुख राजेन्द्र श्रेष्ठले अनुसन्धान सकाएर सोमबारै जिल्ला न्यायाधिवक्ता कार्यालयमा प्रतिवेदन बुझाएको जानकारी दिए। सिफारिस गरेको महल भने खुलाउन चाहेनन्।
‘हामीले अनुसन्धानबाट देखिएको तथ्यका आधारमा हत्यामा दुवैको भूमिकाअनुसार अधिकतम कारबाहीको सिफारिस गरेका छौं,’ एसपी श्रेष्ठले नागरिकसँग भने।
अनुसन्धान टोलीले रञ्जनलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को ३ अनुसार सर्वस्वसहित जन्मकैदको मागदावी गरेको छ। ताराले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १६ अनुसार कसुर गरेकाले त्यहीअनुसार सजाय माग गरिएको छ।
जिल्ला न्यायाधिवक्ता कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा रञ्जन र ताराको अभियोगपत्र दर्ताको तयारी गरेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको तेस्रो म्याद बिहीबारै सकिँदैछ।
रञ्जनले बयानमा पुस २७ गते दिउँसो गीतासँग विवाद हुँदा आफूले धकेलेको र उनी भुइँमा पछारिएर मृत्यु भएको बताउँदै घटना भवितव्य भएको दावी गरेका थिए। प्रहरी प्रतिवेदनमा भने हत्या नियोजित भएको निष्कर्ष निकालिएको छ।
रञ्जनले हत्याअघि पेट्रोल हाल्न ग्यालिन किनेको, घरमा रहेका कान्छो छोरालाई घुमाउने बहानामा बाहिर लगेर श्रीमतीलाई एक्लै बनाएको र हत्यापछि शव पालुङ पुर्याएर जलाई प्रमाण नष्ट गर्ने प्रयास गरेको प्रहरी प्रतिवेदनमा छ। रञ्जनले ग्यालिन किनेको पसले, रञ्जनको घरमा कार्यरत सशस्त्र प्रहरी, गीताका माइती पक्ष र पालुङका स्थानीयको बयान प्रहरीले समेटेको छ।
पुस २७ गते बुढानिलकन्ठको घरबाट हराएकी गीताको खोजी क्रममा रञ्जनले त्यही दिन उनको हत्या गरी मकवानपुरको पालुङ पुर्याएर शव जलाएको खुलेपछि प्रहरीले माघ ८ गते उनलाई पक्राउ गरेको थियो।
रञ्जनले हत्यामा एक्लै संलग्न रहेको बयान दिए पनि प्रहरीले ताराको समेत सहयोग रहेको दावी गर्दै सहअभियुक्त बनाउन सुझाव दिएको हो। गीता हत्याअघि र पछि रञ्जनसँग नियमित सम्पर्कमा रहेको, गीता हत्याबारे जानकार रहेको र १० वर्षदेखि सँगै बसेको तथ्यका आधारमा तारासमेत दोषी रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
ताराले आफ्नो बयानमा रञ्जनसँग चिनजान भए पनि प्रेमिका नभएको र सँगै नबसेको दावी गरेकी छन्। प्रहरीको भने १० वर्षदेखि उनीहरू सम्पर्कमा रहेको र विवाह नगरे पनि सँगै बस्ने गरेको दावी छ।
ताराले रञ्जनलाई श्रीमानका रूपमा चिनाउँदै आफ्नो माइती लगेर दसैंमा टिका लगाएको, तारा र रञ्जनको मोबाइलको ‘कल डिटेल’मा उनीहरू गीता हत्याअघि र पछि नियमित सम्पर्कमा रहेको र प्रहरीले खोज्दा भागेकाले समेत घटनामा उनी संलग्न रहेको प्रहरीले बताएको छ।
नागरिकबाट