काठमाडौ – नेकपा एमालेको संघीय विभागले नौ सय ३० स्थानीय सरकारसहित ८ वा १२ प्रदेशसहितको राज्य पुनर्संरचना र एक सय ९१ सदस्यीय प्रतिनिधि सभाको प्रस्ताव गरेको छ ।
विभागका प्रमुख परशुराम मेघी गुरुङले अध्यक्ष झलनाथ खनाललाई बुझाएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा ८ र दोस्रो विकल्पमा १२ प्रदेश रहने उल्लेख छ । प्रतिवेदनले पहिचान र सामथ्र्यको आधारमा राज्य पुनृसंरचना गर्न सुझाव दिएको छ ।
यस अघिनै एमालेले राज्य पुर्नसंरचना सुझाव उच्चस्तरीय आयोगले जातीयताको आधारमा राज्य पुर्नसंरचना गर्न गरेको सिफारिस मान्य नहुने निर्णय गरिसकेको छ । त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय तथा समानुपातिक मतका आधारमा ९१ जना गरि जम्मा १ सय ९१ सदस्यीय प्रतिनिधित्व उपयुक्त हुने सुझाव दिएको छ ।
प्रतिवेदनमा स्थानीय सरकार, संघीय इकाइ वा प्रदेश संघ र केन्द्रीय तह गरी तीन तहको सरकारको प्रस्ताव समेत गरिएको छ । यसअघि राज्यपुनसंरचना आयोगको प्रतिबेदनले दुई तहको सरकारको प्रस्ताव गरेको थियो । विभागले सिफारिस गरेको प्रतिवेदनमा १ सय ५० भन्दा बढी नगर सरकार, पहिचानसहितको १० वटा स्वायत्त महानगरपालिका र ५ विशेष क्षेत्रको प्रस्ताव छ ।