पर्वत- पर्वतको आर्थर गाविसमा आमा र छोरा मिलेर बाबुको हत्या गरेका छन् ।
पर्वतको आर्थर डाडाँखर्क गाविस ८ का ५५ वर्षीय कृष्णबहादुर सुनारको तीन छोरा र श्रीमतीको कुटपिटबाट हत्या भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले सोमबार पत्रकार सम्मेलन गरेर श्रीमती र छोराको कुटपिटबाट मंसिर १९ गते सुनारको ज्यान गएको अनुसन्धानबाट खुलेको बताएको छ । श्रीमती इन्द्रकुमारी सुनार, छोराहरु आइबहादुर सुनार, काशीराम सुनार र कुमार सुनारले कुटपिट गरेर हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको प्रहरीले बताएको छ ।
हत्या गरिएका सुनारका छोरा र श्रीमतीले विष सेवन गरी उपचारका क्रममा पोखरामा मृत्यु भएको जानकारी दिए पनि लासको प्रकृति हेरी कुटपिट गरी हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
हत्या गरिएका सुनारको ओठमा चोट लागेको,आँखा सुनिएका र शरीरभरी निलडाम रहेको पाईएको पनि गुरुङले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।