
टोकियोमा एक पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले युरोपको परिस्थिति अझै बिगि्रएमा एसियाले व्यापार तथा वित्तीय प्रभाव भोग्नुपर्ने बताउनुभयो ।
ग्रिस तथा इटाली दुबैले आफ्नो राजनीतिक सङ्कट समाधान गर्ने प्रयास गर्दा यस अन्तर्राष्ट्रिय कोषका प्रमुख जापानको भ्रमण हुनुहुन्छ र यस सङ्कटका कारण युरोक्षेत्रमा ऋण समस्या अझै गहिरिनसक्ने र विश्व अर्थतन्त्रलाई दोहोरो मन्दीतर्फ लैजाने अनुमान गरिएको थियो ।
यसबीच उहाँले रुस तथा चीनको भ्रमण भ्याउनुभएको छ र बेइजिङमा रहँदा उहाँले एथेन्स तथा रोममा राजनीतिक स्पष्टता आउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोषले दुबै मुलुकमा राजनीतिक स्थिरता आएको र नीतिगत स्पष्टता भएको देख्न चाहेको बताउनुभयो । उहाँले हाल यी विषयमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गर्नुभयो ।
ग्रिसका नयाँ एकताको सरकारको नेतृत्व लुकास पापादेमोसले गर्नुभएको छ र उहाँले शुक्रबार सपथग्रहण गर्नुभएको छ । आईएमएफका प्रमुखले लुकास पापादेमोसको नियुक्तिलाई स्वागत गर्नुभयो र उहाँले आफूले नवनियुक्त प्रधानमन्त्रीलाई चिनेको र उहाँसँग ग्रिसको ऋण जमानीको पछिल्लो पाइलामा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभयो ।
ग्रिसमा नयाँ सरकारको नियुक्तिलाई समर्थन जनाउने संसदीय प्रक्रिया सोमबार आरम्भ हुनेछ र यस सरकारको पहिलो काम युरोपेली महासङ्घ तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आठ अर्ब युरोपेली मुद्राको सहयोग प्राप्त गर्नु हुनेछ ।
शुक्रबार नै इटालीको संसदको माथिल्लो सभाले मुलुकलाई आर्थिक रूपमा धराशयी हुनबाट जोगाउने सुधारको प्रस्तावलाई समर्थन जनाएको छ । यसअघि त्यहाँका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले राजिनामा दिने मनसाय व्यक्त गर्नुभएको थियो ।
जापानी अर्थमन्त्री जुन आजुमी, बैङ्क अफ जापानका गभर्नर मासाकी सिराकावा तथा वित्तीय सेवामन्त्री सोजाबुरो जिमीसँग भेटपछि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले वर्तमान सङ्कटबाट कोही पनि अछुतो नरहने बताउनुभयो ।
उहाँले व्यापार तथा वित्तीय क्षेत्र सङकट सङ्क्रमणका लागि उपयुक्त वातावरण भएको र निर्यातका क्षेत्रहरूले कठिनाइ भोग्दा जापानले पनि प्रभाव भोग्नुपर्ने बताउनुभयो । उहाँले जापानलाई व्यापक सार्वजनिक ऋण कम गर्ने कुरालाई प्राथमिकता बनाउन पनि आग्रह गर्नुभयो । जापानको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको २०० प्रतिशत रहेको छ । जापान अन्तर्राष्ट्रिय मुद्रा कोषका लागि अमेरिकापछिको सबैभन्दा ठूलो सरोकारयुक्त मुलुक हो ।