काठमाडौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफूले कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताएका छन्। उनले पार्टीभित्र एकता हुन नसक्दा यसको फाइदा अरुले लुट्ने बताउँदै आफूले जस्तोसुकै त्याग तपस्या गर्नुपरे पनि गर्ने तर पार्टी टुक्रन नदिने प्रतिबद्धता व्यक्त गरे। दसैंका अवसरमा शुभकामना दिन जाने क्रममा वरिष्ठ नेता शेरबहादुर देउवासँग वार्ता गर्नेसमेत उनले जानकारी दिए ।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ को वार्षिक सम्मेलनको आइतबार उद्घाटन गर्दै सभापति कोइरालाले पार्टीमा व्यक्तिवादी प्रवृति हावी हुँदै गएका कारण एकताबद्ध हुन नसकेको चर्चा गरेका थिए। उनले व्यक्तिवादी नभई पार्टीमुखी हुन सबैलाई आग्रहसमेत गरे।
उनले माओवादी हतियार बुझाउने, विगतमा कब्जा गरेका जग्गा जमिन फिर्ता गर्ने र वाइसीएलको अर्धसैन्य स्वरुप अन्त्य गर्ने हो भने देशमा तत्कालै शान्ति आउने बताए।
माओवादीले मुखले मात्र शान्ति प्रक्रिया र संविधान लेखन कार्य गर्ने भनेर वाचा गरेपनि व्यवहारमा इमान्दार र जिम्मेवारपूर्ण बन्न नसकेको उल्लेख गर्दै सभापति कोइराला भने- हामी माओवादीको कार्यमा बाधा उत्पन्न गर्दैनौं तर उनीहरुले आफूले गरेको सहमति र सम्झौताको पालना गर्नुपर्छ ।








