एमाओवादी नेता डा.बाबुराम भट्टराई देशकै सबभन्दा पढन्ते नेतामा गनिन्छन् । नामका पछाडि विद्यावारिधिको फुर्को नझुण्डिएको भए पनि एमाले नेता प्रदिप नेपाल समेत त्यही कोटीका मान्छे हुन् भनेर मानिन्छ । संयोगवस् ती दुबै नेता एउटै मञ्चमा उपस्थित भएर एकै विषयमा समान विचार सम्प्रेषण गर्दैगरेको दुर्लभ अवसरमा सहभागी श्रोता बन्ने मौका जुराई दियो– एमाओवादी नेता दिनानाथ शर्माकृत ‘तरङ्ग’ कविता संग्रहको विमोचन कार्यक्रमले ! प्रज्ञाप्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्वभावतः दुवै नेताले फरक भाषाशैलीमै किन नहोस् साहित्य र राजनीतिको फ्युजनको अनिवार्यताको पक्षपोषण गरेका थिए । गर्ने नै भए ! कौवाले आफ्नै नाम काढ्न जानेको त हुन्छ नी !
दुबै नेता आफ्ना कुरा सम्प्रेषण गर्न सिपालु नै छन् । सन्दर्भ साहित्य सिर्जनाको भएको हुनाले जस्तो बोल्नुपर्ने थियो त्यही भाका मिलाएर बोल्नु स्वभाविक थियो । अर्थात त्यो राजनीतिक मञ्च पनि थिएन र वादविवादको कार्यक्रम पनि थिएन । त्यसैले उक्त कार्यक्रममा उनीहरूको अभिव्यक्ति समान, सामान्य, स्वाभाविक र सुरुचिपूर्ण रहने नै भो । त्यसको चियोचर्चोको कुनै अर्थ रहँदैन पनि । बरु दुबै नेता बोलिरहँदा मेरो मन भने भिन्न विचार र विल्कुल विप्ल्याँटो भन्न मिल्ने जीवनशैली अवलम्बन गरेका फरक पार्टीका दुई नेताको चिन्तनप्रवृत्तिमा भने कहीँ न कहीँ समानता रहेको कुरातिर पो घोत्लिँदै थियो ! चिन्तन, शोच, विचार, कार्यप्रणाली विल्कुल भिन्न रहेका भए पनि दुबै कम्युनिष्ट पार्टीका नेता भएको हुनाले त्यसलाई एउटै सिक्काको दुईपाटा भनेर मान्नुपर्ने वाध्यता छ । बरु ती दुवै नेतामा आफूले अवलम्वन गरेको वा वषौंवर्षदेखि आदर्श मानेर पछ्याउँदै आएको राजनीतिक दर्शनबाट भाग्न खोज्ने प्रवृत्ति भने उस्तैउस्तै लाग्ने खालको छ भन्दा फरक पर्दैन । अर्थात यी भिन्न जस्ता लाग्ने व्यक्तित्वहरूका आपसमा दुरुस्त मिल्ने पाटाहरू पनि हुँदा रहेछन् ।
पहिले चर्चा गरौं प्रदिप नेपालको चिन्तनप्रवृत्तिको ! सायद मदन भण्डारीको जीवन रहुन्ज्याल उनको सबभन्दा निकट रहेका थिए – प्रदिप नेपाल । त्यसको अर्थ भण्डारीको ‘जबज’को जवर्जस्त पक्षपोषक पनि रहेकै हुँदा हुन् । तर मदन भण्डारीको बरखी पनि नटुङ्गिँदै ‘नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नका निमित्त हतियार उठाउनु आवश्यक छैन’ भनेर पार्टी प्रवक्ताका हैसियतले पार्टीको मुखपत्र ‘नवयुग’मा लेख छपाउने मान्छे पनि उनी नै हुन् । त्यतिबेलाको कुरा त परै रहोस् आजपर्यन्त मदन भण्डारीको जबजलाई ‘छेपारोले घोचो समाते’कै शैलीमा एक अक्षर तलमाथि नगरीकन एमालेले समातेकै छ । कमसेकम त्यस्तो दावी गर्न उसले छोडेको छैन । स्वभावतः प्रदिप नेपालजी पनि त्यो दावीबाट टसमस हुने कुरै भएन । तर भण्डारीको दस्तावेजमा भने जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सानो ठूलो बलप्रयोगको अनिवार्यता स्वीकारिएकोे छ र त्यही प्रयोजनका लागि ‘शक्ति सञ्चय’ को कार्यनीति अख्तियार गर्नुपर्ने मान्यता अघि सारिएको छ । सच्चा जबजवादी नेपालजीको अभिव्यक्ति पार्टी र स्वयम आफ्नै मान्यताबाट भाग्ने कशरत होइन कसरी भन्न मिल्छ र ?
नेपालजीहरूले आवश्कता देखे पनि नदेखे पनि मुलुकमा हतियार उठ्यो । जनयुद्धको आँधीले कमसेकम सामन्तवादलाई सोत्तर पा¥यो । दुनियाँले देखेजाने र बुझेको कुरा यही हो । तर दिनको घाम जत्तिकै छर्लङ्ग रहेको यो तथ्यलाई स्वीकार्न नेपालहरूको विवेक आजसम्म पनि तयार छैन । नेपाली राजतन्त्रको उन्मूलन माओवादी जनयुद्धले गरेको होइन बरु त्यसको श्रेय मदनभण्डारीको २७ बुँदे असहमतिलाई जान्छ भन्ने तर्क अघिसार्छन् । कुरो मदन भण्डारीले कहाँ कहिले के भनेका थिए भन्ने होइन । दस्तावेजमा लेखिएकै आधारमा क्रान्ति र परिवर्तन सम्भव हुने भए पुस्तकालयहरू क्रान्तिनायक मानिन्थे । मान्छेले कष्ट उठाउनै पर्दैनथ्यो । कुरो त मदन भण्डारीको जबजले एमालेलाई कता डो¥यायो र सामन्तवादको नेपाली काउछो पन्छाउनमा एमालेले कति योगदान पु¥यायो भन्ने हो । साँचो कुरा गर्ने हो भने जबजको अवलम्बनले एमालेलाई भाइ कांग्रेस बनायो, दरबारको पहरेदार बनायो, राजसंस्थाको असल हिमायती बनायो र हुँदा हुँदा सक्रिय राजतन्त्रको सहयात्री समेत बनाएको कुरा तीतोसत्य हो । अन्तिम सास गन्दै गरेको राजतन्त्रलाई काँध थाप्न मरिहत्ते हालेको एमाले पार्टी, उसले अवलम्बन गरेको जवज र त्यसका सिद्धान्तकारलाई गणतन्त्र स्थापनाको श्रेय दिनेकुरा गर्नुजस्तो कुरूप प्रहसन अरु के होला र ? कि भन्न सक्नुप¥यो – मदनभण्डारीको जबजले होइन, नेपालहरूका विचलन्बाट एमाले नामको पार्टी हाँकिएको थियो !
अब थोरै चर्चा अर्का नेता बाबुराम भट्टराईको पनि गरौं ! अध्ययन, ज्ञान, निष्ठा र सद्चरित्रका दृष्टिले कहीँ कतै औंलो ठड्याउने ठाउँ उनले दिएका छैनन् भन्दा फरक नपर्ला । विद्वता, क्रान्तिकारिता, दृढनिश्चय र इमान्दारिता हिजोसम्म उनका गहना मानिन्थे । तिनमा नेपाली जनताको असीम श्रद्धा र सम्मान रहने गर्दथ्यो । ती सबै सद्गुणहरू भट्टराईका स्वआर्जन थिए । कसैले भिराईदिएका फर्जी कुरा थिएनन् । तर किन हो कुन्नी ? ती विलक्षण परिधान र आभुषणहरूप्रति भट्टराई स्वयम्मा वितृष्णा विकसित हुन थालेको पो हो कि भन्ने अनुभूति समाजले गर्न थालेको छ । पुराना गहनाहरू उतारेर फ्याक्ने र नयाँ नौला परिधानमा सजिने असाध्य भोक उनमा चढ्न थालेको स्पष्ट दृष्टिगोचर हुन थालको छ । नयाँ अवतारप्रतिको विछट्ट आकर्षणबाट सम्मोहित हुन थालेजस्तो देखिन्छ ।
हो, नेपाली जनताले राजनीतिमा नयाँपन खोजेकै हुन् । भट्टराईहरूले दावी गर्ने गरेजस्तै ‘भिन्न धातु’ बाट बनेको पार्टी र त्यसका नेता कार्यकर्ताहरूले मुलुकको शासनप्रशासन पनि भिन्न ढङ्गबाट सञ्चालनको विलक्षण कुशलता प्रदर्शन गर्लान् कि भन्ने आशा नेपाली जनताले राखेकै थिए । अपेक्षा विपरित उनीहरूले आफुलाई एमाले, कांग्रेस र पञ्चहरूभन्दा अब्बल सावित गर्न नसकेकै हुन् । पछिल्लो निर्वाचनमा एमाले कांग्रेसको संयुक्त विजयको रूपमा जनताको त्यही निराशा अभिव्यक्त भएको हो । ढिलै भए पनि जनता, समाज र मुलुकले नयाँपनको खोजी गरेको छ भन्ने कुराको आत्मस्वीकृति नेताजीहरूमा पलाउनु स्वागतयोग्य कुरा हो । तर उनले प्रेस्क्राइव गरेको नयाँ शक्ति निर्माणको फर्मुला भने पत्यारलाग्दो किमार्थ छैन । नवउदारबाद र माक्र्सवादका असल पक्षहरूको व्यवहारिक प्रयोग गर्न खोज्नु राम्रो होला तर फ्युजनको कुरा भने विल्कुल अव्यवहारिक र काल्पनिक आदर्श सिवाय केही होइन । त्यो त तिलस्मी कथा मात्र हो । अवश्य स्वास्थ्यको लागि दूध सेवन राम्रो मानिन्छ र कागतीको रस पनि गुणकारी हुन्छ तर ती दुई चीजको फ्युजन(ककटेल) मा नत दुधको गुण रहन्छ नत कागतीको ! कागती र दूध अलग अलग सेवन गर्नुपर्ने बस्तुहरू हुन् । माक्र्सवाद र नवउदारवादको फ्युजन चिनी र पानीको मिश्रण जस्तो किमार्थ होइन । डाक्टर साहेबले गर्न खोजेको लहडी प्रयोग मात्र हो कि पूर्व आदर्शहरूबाट भाग्ने कसरत हो कुन्नी ?