Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

 डण्ड र पुरस्कारका बारेमा सानैदेखि एउटा कुरा पढ्दै सुन्दै आएको थिए । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई डण्ड । पुरस्कारको थालनीको इतिहास खोज्दै गयौं भने हामी ग्रिसको एथेन्ससम्म आईपुग्छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेर हौंसला बढाउदै सम्मान गर्ने सँस्कृति एथेन्सबाटै शुरु भएको थियो । यो परम्परालाई विश्वका सबै राष्ट्रले मान्दै आएको छ । त्यसपछि आउछ साहित्यको पुरस्कार । साहित्यमा नोबेल पुरस्कार १९०१ देखि शुरु भएको थियो भने अमेरिकन लिटरेरी एशोसिएसनले १९२२ देखि बाल साहित्यमा पुरस्कार दिने परम्परा बसाल्यो । मेन बुकर साहित्य पुरस्कार १९६९ देखि दिन थाल्यो नयाँ नयाँ पुरस्कारहरु अस्तित्वमा आउँदै गयो । नेपालमा साहित्यिक पुरस्कारको थालनी १९५६ देखि मदन पुरस्काबाट भएको मानिन्छ । भारतीय नेपाली साहित्यकारलाई दिईने साहित्य अकादमी पुरस्कार १९७७ देखि शुरु भएको थियो । त्यसपछि प्रज्ञा पुरस्कार, साझा पुरस्कार हुँदै ८० को दशकदेखि विभिन्न नाममा पुरस्कारहरु स्थापना हुँदै गएको र आजको मितिसम्म आईपुग्दा सय-दुइसय डलर राखेर भए पनि आफन्तजनको नाममा पुरस्कार स्थापना हुँदै गईरहेको छ ।

१९५६ (विसं २०१३) देखि मदन पुरस्काबाट शुरु भएको साहित्यिक पुरस्कारले निरन्तरता (दुइपटक बाहेक) पाउदै आएको छ र यसैलाई नेपाली साहित्यमा गरिमामय पुरस्कार पनि मानिन्छ । आजको मितिमा धेरैनै मदनहरु जन्मेर साहित्यिक पुरस्कार स्थापना गरेर लेखकलाई लेखनकार्यमा प्रोत्साहित गर्दै नेपाली साहित्यको अभिवृद्धिमा टेवा पुर्‍याउदै आएका छन् । साहित्यिक पुरस्कार स्थापनाका लागि मदनहरु नेपालबाहिर पनि जन्मन थालेका छन् र वर्षेनी पुरस्कार बाड्दै गएका पनि छन् । नेपालमा र नेपालबाहिर नेपाली साहित्यका लागि दिइने पुरस्कारको फेहरिस्त बनाउन थाल्यौं भने लामै नामहरु संकलन गर्न सकिन्छ । तर ती पुरस्कार स्थापना गर्नेहरुसँग यसको निरन्तरताको भने ग्यारेन्टी रहेको हुँदैन । न त पुरस्कारका लागि मूल्याङ्कन गरेर घोषणा गरी दिने जिम्मा लिएका संघसंस्थाहरुसँग नै यसको ग्यारेन्टी रहने गर्दछ न त दाताले नै कहिलेसम्म दिने वा दाताको शेषपछि कस्ले दिनेमा नै कुनै मञ्जुरीनामा बनाइएको हुन्छ । यस्ता धेरैनै उदाहरणनहरु देखापरेका छन् जुन शुरु भएर बीचमै हराएका छन् । उदाहरणका लागि गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो र जिवा लामिछानेले अनेसास संरक्षणमा फुलकुमारी महतो र खेमलाल हरिकला लामिछानेको नामबाट डायस्पोरा –(?) पुरस्कार त्यस्तै नृपध्वज कार्की डायस्पोरा (?) पुरस्कार, एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिको संरक्षणमा हेम सरिता पाठक प्रतिष्ठानले राखेको कवितामा हजार डलरको पुरस्कार आदि उल्लेखनीय छन् । यस्ता पुरस्कारका दाताले संस्थासँग रिस उठेको खण्डमा वा संस्थासँग कुरा नमिलेको खण्डमा अथवा भनौं संस्थाका कुनै व्यक्ति वा संस्थाको नीतिसँग असन्तुष्ट भएको खण्डमा आफुले दिएको पुरस्कारको रकम दिन बन्द गरी दिन्छन् र अर्को संस्था वा आफ्नै संस्था खोलेर पुरस्कार बाँडेर आफ्नो नामको प्रचार गर्न थाल्छन् । नाम कमाउनलाई पुरस्कार राख्ने र पछि कुनै व्यक्तीसँग चित्त बुझेन भनेर झिक्ने परम्परा विकसित हुँदै गई रहेको छ । रिस व्यक्तिसँग सजाय संस्थाले भोग्नुपर्ने हुन्छ । यदी यसरी झिक्ने मनस्थिति छ भने किन दिने ? यसरी पुरस्कारको गरिमामा नै आँच आउने काम गर्नु कतिको युक्तिसंगत हो भन्ने कुरा यस्ता दाताहरुले आफै बुझ्नुपर्ने हो । अझ अक्षय कोष स्थापना नगरेसम्म यस्ता पुरस्कारको घोषणा नगर्दा राम्रो हुन्थ्यो । यसका लागि पुरस्कार बाड्ने जिम्मा लिएका संस्थाहरु कालान्तरमा आफै जिम्मेवार भएर अन्य श्रोतबाट पुरस्कारलाई निरन्तरता दिन बाध्य भएका पनि हुन्छन् ।

व्यक्ति र संस्थाले मात्र नभएर आज सञ्चार माध्यमले समेत सामाजिक सञ्जालका माध्यमबाट पाठकको मतदान प्रक्रियाद्वारा फेसबुकमा लाइक गरेर पाँचजना साहित्यकारको नाम सार्वजनिक गरेको छ । अब यी पाँचजनाबाट लाइक प्रक्रियाबाट एकजनालाई वर्षको सर्वोश्रेष्ठ साहित्यकार घोषणा गर्दैछ । अब साहित्यकारको मूल्याङ्कन उनको लेखाईबाट र उनको प्रतिभाबाट नभएर उनले बनाएका र जोडेका बन्धुबान्धुहरुको संख्याका आधारमा हुने भएको छ । अब साहित्यकारको मूल्याङ्कन गर्ने कसी चिनापर्चीका आधारमा वा मनपरेको आधारमा हुन थाल्यो । यस्तोमा कनिष्ठले वरिष्ठ साहित्यकारलाई मात दिएर वर्षको सर्बश्रेष्ठ साहित्यकार घोषणा भए पनि यसलाई आश्चार्य मान्नुपर्दैन । यसलाई साहित्यकारको मूल्याङ्कन नठानेर पत्रिकाले आफ्नो व्यापार बढाउन गरेको विज्ञानात्मक प्रचारबाजी मात्र ठान्नुपर्दछ ।

केही यस्ता साहित्यिक संस्थाहरु पनि छन् जसले आफ्नो कार्य क्षेत्रबाहिर गएर पनि सम्मान गरेर सम्मानको नै अपमान गरी दिन्छन् । अझ पुरस्कार र सम्मान भनेको व्यक्ती विशेषको साहित्यिक प्रतिभा, लेखन शैली, साहित्यमा पुर्‍याएको योगदान, विधागत वैशिष्टताका आधारमा मूल्याङ्कन गरेर उनलाई प्रोत्साहित गर्दै उनको कार्य दक्षताले निरन्तरता पाउदै जाओस भन्ने उदेश्यका साथ गरिन्छ । तर अहिले पुरस्कार र सम्मान गर्ने परम्परामा नै विसङ्गति आएको छ । एउटा संस्थाले एक-दुइ दिनको साहित्यिक कार्यक्रमको आयोजना गर्छ । त्यस कार्यलाई सहयोग गर्न एउटा समिति बनाउछ र पारिश्रमिकको नाममा ती संस्थामा पद ओगटेर बसेकै र विभिन्न समितिमा रहेकैलाई सम्मान गर्ने र पुरस्कृत गर्ने परम्परा शुरु भएको छ । आफैले आयोजना गरेको कार्यक्रममा आफै सम्मानित हुने परम्परा शुरु भएको छ । आफ्नै संस्थाबाट आफैले पुरस्कार लिने परम्परा शुरु भएको छ । अनेसासले वर्षेनी दर्जनका हिसाबले पुरस्कार बाड्ने गर्छ र साहित्यकार सम्मान गर्ने गर्छ । यसरीनै वर्षा दुइतीनवटा कार्यक्रम राखेर दर्जनौं साहित्यकारलाई सम्मान र पुरस्कार बाड्न थाल्यो भने अबको दस वर्षमा त्यस संस्थाबाट सम्मान पाउने र पुरस्कृत हुने साहित्यकारहरु र पुरस्कृत नभएका पुस्तकहरु विरलै देख्न पाइएला । गत वर्षको सम्मेलनमा मात्र १६ वटा पुस्तकहरु एकै दिनमा पुरस्कृत भएका थिए । यो रोग अन्य संस्थामा पनि र्सर्दै गएको छ । यसरी बाँडिने पुरस्कारबाट पुरस्कारको गरिमा नै घट्दै गईरहेको छ । पुरस्कार त्यस्तो होस जसलाई पाएपछि पाउने व्यक्ति होईन त्यस्तो व्यक्तिले पुरस्कार पाउनुपर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस् ।

अनेसासको तेस्रो साहित्यिक सम्मेलनमा बिना हस्ताक्षरको पुरस्कारको प्रमाणपत्र बाडियो । त्यसको आधिकारिकतामाथि प्रश्न उठाउन मिल्छ कि मिल्दैन । पाउनेले बिना हस्ताक्षरको प्रमाणपत्र पाएर मख्ख हुन्छ भने यो साहित्यकारहरुमा देखापरेको दरिद्रता हो । एकजनालाई रिझाएर पुरस्कार पाउने र बिना हस्ताक्षरको प्रमाणपत्र लिएर मौन बस्नेलाई तपाई हामीले के भन्ने ? साहित्यमा पाउने पुरस्कारको गरिमा हामी कहाँ खोज्ने ? अझ कतिपय संस्थाले त विभिन्न दाताहरुको नाममा रहेको नगद पुरस्कारको घोषणा गरेर पुरस्कार पाउनेसँग पहिल्यैनै मोलमलाई गरेर कार्यक्रमको आयोजना गर्दा खर्च लाग्ने भएकोले खर्च कटाएर पुरस्कारको रकम दिने वा खाली पुरस्कारको प्रमाणपत्र मात्र दिने गरेको पनि सुनिन्छ । अझ सय-दुइसय डलरको पुरस्कार लिन नेपालबाट आफ्नै खर्चमा कुनै साहित्यकार अमेरिका आउँछ भने त्यसलाई तपाईहामीले के भन्ने । किनभने आयोजकले टिकट खर्च कसैलाई दिदैंन ।

विभिन्न व्यापारिक संस्थाहरुले साहित्यको नाममा राखेको पुरस्कारले नेपालमा त्यति उल्लेखनीय भूमिका खेल्न नसके पनि भारतको एउटा पुरस्कारले भने विश्वको नै ध्यानाकर्षण गरीदिएको छ । तीन वर्ष अगाडिमात्र सन् २०११ भारतको व्यापारिक समूह डिएससी ग्रुपले स्थापना गरेको पचास हजार डलरको डिएससी पुरस्कार आजको मितिमा छोटो समयमा नै दोस्रो नोबल पुरस्कार बन्न पुगेको छ । डिएससी ग्रुपले अंग्रेजी भाषामा लेखिएका वा अनुवाद गरिएको र दक्षिण एशियाका बारेमा लेखिएका आख्यान साहित्य (उपन्यास) लाई पचास हजार डलरको डिएससी पुरस्कार प्रदान गर्दै आएको छ । दुइ लाख राशीको मदन पुरस्कारका लागि प्रतिष्पर्धा गर्दै आएका नेपाली लेखकलाई अब चार करोड सन्तानब्बे लाख नेपाली रुपियाँका लागि साहित्य लेखेर प्रतिष्पर्धा गर्न सक्नपर्ने अवस्थामा पुर्‍याईदिएको छ । नेपाली साहित्यमा विश्वसाहित्यसँग प्रतिष्पर्धा गर्न सक्ने साहित्य नभएको हैन । तर त्यसलाई विश्वले पढ्न सक्ने भाषामा अनुवाद गर्ने प्रक्रियाको विकास भएको छैन । यस्तो प्रक्रियाको विकास गर्नु जरुरी छ । त्यसो भएमा मात्र नेपाली साहित्य विश्वव्यापीकरणको मान्यतामा आउन सक्छ । डिएससी पुरस्कारका लागि अहिलेसम्म नेपालबाट कुनै पनि कृतिले उपस्थिति समेत जनाउन सकेको छैन । तर सही ढंगबाट हामी प्रयासरत रह्यौ भने भोलीका दिनमा यो असम्भव पनि हुन सक्दैन । यही पुरस्कारले भारतको गुलाबी शहर भनेर चिनिने जयपुर विश्वका प्रख्यात साहित्यकारहरुको साहित्यिक तिर्थ बनेको छ । अन्तर्राष्ट्रिय पुरस्कारबाट सुशोभित भएका साहित्यकारहरु आफ्ना अनुभव सुनाउन आउछन् । विश्वप्रसिद्ध साहित्यकार, कलाकार, चित्रकार, राजनीतिज्ञ, कुटनीतिज्ञ, चलचित्रकर्मी, संगीतकर्मीहरुको अनुभव र अभिव्यक्ती सुन्न टाढाटाढाबाट कलासाहित्यानुरागीहरु आउने गर्दछन् । यहाँ साहित्य, संगीत र सिनेमाको त्रिकोणात्मक संगम हुने गर्दछ ।

नेपाली साहित्यकारको प्रतिनिधित्व गर्दै विगत तीन वर्षदेखि सहभागिता हुँदै आएकी नेपाली मूलकी क्यानेडियन साहित्यकार मञ्जुश्री थापाले यस महोत्सवलाई नेपाली लेखकको लेखनमा परिवर्तन ल्याउन सक्ने माध्यमका रुपमा लिएकी छिन् । उनकाअनुसार नेपाली साहित्यमा प्रकाशकको अभावमा लेखक आफै प्रकाशन बनेर आफ्नै खर्चमा कृति प्रकाशन गर्ने र अरुका कृति नपढ्ने प्रवृति बढ्दै गएकोले साहित्यको स्तर कम हुँदै गएको हो ।

नेपाली साहित्यलाई माया गर्ने संस्थाहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । यो प्रशंसनीय कार्य गर्नेहरुलाई धन्यवाद जति दिए पनि कमै हुन्छ । काठमाडौंमा हुने एनसिएलको साहित्यक सम्मेलनले नेपाली साहित्यमा एउटा नयाँ सोँच जन्माउदै गएको छ भने गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि शुरु गरेको नेपाली साहित्यको विश्वव्यापीकरणबारेको सम्मेलनले नेपालबाहिरका नेपाली साहित्यकर्मीहरुको सही मूल्याङ्कन हुने विश्वास लिन सकिन्छ । त्यस्तै गत वर्षदेखि नै विश्व नेपाली साहित्य महासंघले पनि काठमाडौंमा शुरु गरेको विश्व साहित्य सम्मेलनले नेपाली साहित्यलाई विश्वसामु परिचय गराउने कार्यमा सहयोग पुर्‍याउने विश्वास लिन सकिन्छ । नई प्रकाशनले पनि विश्व नेपाली साहित्य सम्मेलनको सफलतम् आयोजनापछि विश्व नेपाली नारी साहित्य सम्मेलनको संघारमा पुगेको छ । अनेसासले गर्दै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनले तीनवटा खुड्किला पार गरीसकेको छ । एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले पनि २०१० देखि निरन्तर साहित्य सम्मेलनलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको छ । यी संस्थाहरुले साहित्यकारहरुलाई सम्मान गर्ने परम्परामा प्रतिष्पर्धा गर्नु भन्दा सही व्यक्तिको सही तरिकाबाट चयन गर्नु आवश्यक पर्दछ । पहिलोपटक विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यकारहरुको सम्मानका लागि बनाइएको चयन समितिमा भारतको बिएयु विश्वविद्यालयका नेपाली विभाग र भारतीय भाषा विभागका प्रमुखबाट लिएर भारतीय साहित्य अकादमी, नेपाली साहित्यका प्राध्यापकसँगै वर्मा, भियतनाम, भुटान र गैरआवासीय नेपाली संघका प्रतिनिधि (साहित्य) राखेर विभिन्न क्षेत्र र विधाका चारजनाको नाम घोषणा गरेको थियो । तर माथि भनिए झै यहाँ यस्ता संस्थाहरु पनि छन् जसले आफ्नै संस्थाका तीनजना चयन समितिमा राखेर आलोपालो संस्थाकै नयाँ पुराना सदस्यसहित दर्जनका हिसाबले सम्मान र पुरस्कार घोषणा गर्ने गर्दछन् । अतः त्यस्तो व्यक्तिले पुरस्कार पाउनुपर्छ जसले पाएर पुरस्कार आफै सम्मानित होस् र पुरस्कारको पनि गरिमा बढोस । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया