जापानमा नेपालीहरुको एउटा छुट्टै संसार छ । यहाँ के छैन, सबैथोक छ । कुनै बेला नेपाली अक्षर देख्न यहाँका नेपालीहरुले नेपालबाट हिमाल पत्रिका, साप्ताहिक विमर्श, गोरखापत्र मगाएर हप्तादिन कुर्नुपर्थ्यो । औकात हुनेहरुले अमेरिकाबाट अंग्रेजी भर्सनको बडेमानको कम्प्युटर झिकाएर कोठामा सजाएर राख्दा ठूलो कुरा हुन्थ्यो । किनभने जापानमा जापानी भर्सनका मात्र कम्प्युटर पाईन्थे । कम्प्युटरमा नेपाली अक्षर पनि आएको देख्दा झन हेर्न आउनेहरुको ताँती नै लाग्थ्यो । धेरै कहाँ भएको छ र दश बाह्र वर्ष पहिलेको कुरा न हो ।
तर अहिले जापानमा के छैन सबथोक छ । सबको हातहातमा आईफोन छ, आईप्याड छ । घरघरमा ब्यक्तिपिच्छे ल्यापटप छ । तर धेरैजसोका लागि यी प्रविधि मनोरञ्जनको साधन मात्र बनेका छन्, यी साधनहरु फेसबुक, स्काईप र च्याटिङमा मात्र सीमित भाँडावर्तनजस्ता भएका छन् । आफुलाई चाहिने सामान्य भन्दा सामान्य एउटा डकुमेन्ट पनि आफ़्नो कम्प्युटरबाट निस्कदैंनन् । हाम्रा साधनहरु टाईमपास गर्ने मनोरन्जनका मेशिन भएका छन् काम गर्न होइन । कतिपयले त फेसबुक चलाए पनि इमेल आइडी नै लिएका हुदैनन् किनभने फेसबुक एकाउन्ट अरुले नै खोलिदिएका हुन्छन् आवश्यक पर्दा इमेल आइडी आफुलाई नै हेक्का हुदैन ।
यसरी बुझेर होस् या नबुझेर सूचना र प्रविधिको पछिपछि कुदे पनि त्यसको महत्व र उपादेयतालाई भरपुर उपयोग गर्न नसक्दा हामी आफै दुख पाएका छौं । १ पेज प्रिन्ट गर्नका लागि बिकसित जापानको सहरमा भौंतारिदैं हिड्ने नेपालीहरुको संख्यामा कुनै कमी आएको छैन । कम्प्युटर छ, प्रिन्टर छैन, प्रिन्टर पनि छ, तर प्रिन्ट गर्न आउँदैन, प्रिन्ट गर्न आईहाले पनि अक्षरमा खेल्न आउँदैन र आफुलाई चाहिएको कागजात तयार गर्न सकिदैन तर फेसबुकमा च्याट गर्न भने आउँछ । नभई नहुने कुरा सिक्न आवश्यक ठान्दैनौ, नभए पनि काम चल्ने कुरा भने बिहान उठेदेखि राती ओछ्यानमा ननिनाउँदासम्म टाँसिएको टाँसियै हुन्छौं । यो वर्गका नेपालीहरुको संख्या अहिले जापानमा सबैभन्दा ठूलो हुनुपर्छ । यसका केहि बलिया आधारहरु पनि छन् ।
हामी सिक्न चाहदैनौ, किनभने सानो होईन्छ । बरु नेपाली, अंग्रेजी, नेपाङ्ग्रेजी वा रोमानमा जस्तोपायो त्यस्तै लेखेर दुनियासामु संप्रेषण गर्दा हामीलाई कुनै लाज लाग्दैन । सुधार गर्नेतिर हामी पटक्कै सुर्ता लिदैंनौ, किनभने हामी नेपाली हौं, यो हाम्रो जन्मजात गुण हो ।
जापानमा केहि वर्ष अघिसम्म नेपाली स्कुल थिएन । केहि अगुवाहरुको लामो अथक प्रयास र यहाँको नेपाली समुदायको सकारात्मक सहयोगमा त्यो पनि स्थापना भई एक शैक्षिक सत्र पुरा गर्दै छ । नेपाली पत्रिकाले दशक नाघिसक्यो । कोदोको रक्सी आईसक्यो । नेपालकै घरगाउँमा पाईने सबैखालका गुन्द्रुक, सुकुटी, टिमूर, जिम्बू, सिद्रा जस्ता भान्साका बास्नादार वस्तुहरु तथा खैनीसूर्ती, पानपराग लगायतका अम्मलीहरुका लागि आवश्यक पर्ने चीजबिजहरु सबैजसो सहरहरुमा पाईन्छन् । नौमती बाजामा अब धितमरुञ्जेल नाच्न पाईने भएको छ । म्याग्देली र गुल्मेलीले नौमती बाजा जापानको बजारमा भित्र्याएका छन् । भजन मण्डली पनि जम्नेक्रममा छ । नेपाली दौरासुरुवाल, टोपी, सारी, चोलो, कुर्था लगायत बिभिन्न जातजातीका भेषभूषाका साथै, चुरापोते, टिका जस्ता श्रृंगारजन्य सामानहरु खोजेको बेला पाईन्छ । दसैतिहार, तीजजस्ता पर्व नेपालमा जस्तै रहरै रहरमा महिनौ मनाउने चलन भित्र्याईसक्यौं, कुन दिनदेखि थेग्न सकिदैन अनि पुर्पुरोमा हात राख्ने छौं त्यो आफ़्नै ठाउँमा छ । विभिन्न प्रसिद्ध लेखकहरुका पुस्तकहरु बजारमा आईसकेका छन् । पूजापाठका लागि पुरेतबाजेहरुको खाँचो छैन । दूनाटपरी पनि फेष्टिबलमा देखिहालियो । केहि वर्ष पहिले केहि पारखीहरुले दोहोरी साँझको रहर गरे तर अरुले गरिखाएको देखि नसहने केहि ठालु मनुवाहरुले न आफुले गरेर देखाउन सके न अरुलाई गरेर खान दिए । खारेशप जस्तो ठानेहोलान्, आम्नेसाम्ने विचारै नगरी खोलिदिने अनि न आफुलाई हुने न अरुलाई हुन दिने ।
जेहोस् जापानमा नेपाली समुदाय आफैमा एउटा मिनी नेपाल हो । यहाँ सबै छ । नभएको भन्ने अब एउटा धार्मिक आस्था राख्नेहरुका लागि मन्दिरको अभाव भएको महशुस धेरै पहिलेदेखि गरिदैं आईएको छ । बेलाबेलामा यसबारे पनि चर्चा-परिचर्चा चल्दै आएको छ । एक जना अगुवाई गर्ने मुखिया हुने हो भने यो बिषयले पनि मूर्तरुप नपाउने देखिदैन । यसका लागि एक जना छातीमा रौं भएको बहादुर नेपाली ढिलोचाडो जन्मने नै छन् ।
यी सबै हुँदाहुँदै पनि यहाँको नेपाली समाजमा के के नपुगेजस्तो आभास हुँदै आइरहेको छ । त्यो भनेको समाजलाई सहि दिशामा लैजानका लागि सकारात्मक सन्देश दिने खालका लेख रचनाहरु लेख्नका लागि नियमित कलम चलाउने हातहरुको अत्यन्त अभाव छ । सामाजिक सञ्जालहरुमा छिटफूट अभिब्यक्तिहरु पोख्ने गरिएता पनि त्यसमा खासै पूर्णता र आधिकारिकता पाईदैन । समाज कुन दिशातिर गईरहेको छ, आजको पुस्ताले आफ़्नो जिम्मेवारी कुन हदसम्म पुरा गरेको छ कि छैन, भावी पुस्तालाई हामीले के दिन सक्नुपर्दछ, समाजमा राम्रा कुराहरु के के भए, नराम्रा विकृतिहरु के के बढे ? राम्रालाई कसरी प्रोत्साहन गर्ने र नराम्रालाई कसरी दुरुत्साहित गर्ने ? शिक्षाको क्षेत्रमा, संगीतको क्षेत्रमा, साहित्य-सिर्जनाको क्षेत्रमा, ब्यवसायिक क्षेत्रमा सफलता-असफलताको बिषयमा हामीले कहिल्यै गम्भीर भएर छलफल र समीक्षा गर्ने गरेका छैनौं । यी सबै बिषयहरुमा के हामीले यो समाजलाई जानाकारी गराउन पर्दैन ? यहाँका अगुवाहरुको काम, कर्त्तब्य के ? के का लागि मुखिया चुनिएका छन् ? आसन ग्रहण र भाषण गरेर हामीले सिंगो एक दशक गुजारीसकेका छौं, तर के पायौं ? अब यसरी चल्दैन । परिवर्तन हुनु आवश्यक छ । त्यसैले अव सकारात्मक, सिर्जनात्मक र रचनात्मक सन्देश सबैमा प्रवाह गर्न जरुरी छ, त्यसका लागि यहाँका अगुवा, बुद्धिजीवी, अनुभवी, भुक्तभोगीहरुले समाज परिवर्तनका खातिर आ-आफ़्ना विचार, दृष्टिकोण, प्रतिक्रिया, टिप्पणी, धारणा तथा अनुभवहरु लिखितरुपमा आदानप्रदान गर्न ढिला भईसकेको छ । त्यसका लागि कलम चलाउन जरुरी छ ।
यहाँको एउटा विद्वत वर्ग छ, जो पर्दा पछाडि लुकेर बसिरहेको छ । उ मुलधारमा मिसिन चाहँदैन । यताको मैलो उता सर्छ भनेर हो या उताको सुकिलो यता सर्छ भनेर हो त्यो त उनै जानून् । त्यसैले उसको विद्वताले यहाँको नेपाली समुदायलाई खासै फाइदा दिन सकेको छैन ।
त्यस्तै यहाँ एउटा अर्को वर्ग छ, उसले आफुलाई असाध्यै सक्रिय ठान्छ । सकेसम्म सबैठाउँमा आफैले भ्याउन खोज्छ र निकै ब्यस्तताको स्वाङ पार्छ । समाजको अगुवाई अहिले यहि वर्गले गरेको छ । तर ऊ वकितममा थोरबहुत फिट भए पनि लिखितममा फेलै त नभनौ अल्छिचाँही छ । नामको असाध्यै भोगी छ यो वर्ग । कहिंकतै समाचारमा त्रुटीवश यसो नाम छुट्न गयो भने उसले ठूलो प्रतिष्ठाको बिषय बनाउँछ यसलाई । कहिंकतै मौका पायो भने त्यसको बदला लिईहाल्छ अनि तीतो ओकलिहाल्छ उसले । बोल्ने मौका पायो भने बोल्न दिईएको बिषय जे सुकैहोस् ख्याल गर्दैन यो वर्गले तर धाराप्रवाहमा यो वर्ग अलि माहिर नै मानिन्छ । त्यसैले अलि केहि गर्लाजस्तो वर्ग यहि हो तर यसमा सुध्रिने छाँटकाँट भने देखिदैन । तसर्थ यो वर्गले अव कलम समातोस् परीक्षा नै सहि, अनि अहिलेसम्मको अनुभव, ज्ञान र सीपमा आधारित आफुलाई मनमा लागेका कुराहरु ओकलोस् जसले गर्दा उसको अनुभवबाट धेरैभन्दा धेरै जनहरुले उसका राम्रा कुरा सिक्न र जान्न सकून् । आ-आफ़्ना क्षेत्रमा सबैले सुधार गर्दै अगाडि बढ्न सकून् । यसो गर्न सक्यौं भने समाजमा छिट्टैनै परिवर्तनका संकेतहरु देख्न सकिने छ भन्दा बढ्ता नहोला । ****