संविधान सभामा कसैगरी पुगेका राजनीतिक दलहरुको चर्तिकला देखेर नेपाली जनता फेरि पनि निराश हुन पुगेका छन् । आज उनीहरुले ‘कुक्कुरको पुच्छर बाह्र बर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगै’ भन्ने उखान चरितार्थ भएको प्रष्टसँग देखिरहेका छन् । एक त संविधान सभाको दोश्रो निर्वाचन जुन माहोलमा जसरी सम्पन्न गरियो र जस्तो परिणाम आयो त्यसप्रति नै मानिसहरु बिश्वस्त हुन सकिरहेका छैनन भने चुनाव पछिका बिजेता दलहरुका गतिबिधि र समानुपातिक उम्मेदवारको छनौटको आधार र प्रक्रिया देखेपछि जनतामा अत्यन्तै ठूलो निराशाको बातावरण बनेको छ । यस्तो स्थितिमा यो दोश्रो जम्बो संविधान सभाबाट पनि पहिलो संविधान सभाबाट जस्तै संविधान नबन्ने र देशले निकास नपाउने आशंका जनतामा ब्याप्त छ ।
त्यसै पनि दोश्रो संविधान सभाको चुनाव परिणाम जसरी आयो या ल्याइयो यो सहज स्वीकार्य बन्न सकिरहेको छैन । त्यसमाथि निर्वाचनपछि जस्तो राष्ट्रिय राजनीतिक अनुहार देखिदैछ त्यसले पनि देशको राजनीतिको एउटा नांगो कुरुप तस्वीर नै प्रस्तुत गरिरहेको छ । जसले गर्दा राजनीति र राजनीतिक दलहरुप्रति जनतामा ठूलो बितृष्णा र ब्यामोह जागेको छ । यो कुनै अर्थमा पनि गणतन्त्रात्मक लोकतन्त्रका सच्चा पक्षधर र पहरेदारहरुका निमित्त सैहृय र मान्य कुरा बिल्कुलै होइन । वास्तवमा आज यसरी राजनीति एउटा ‘फोहोरी खेल’ नै रहेछ भन्ने कुरा यत्रतत्र र्सबत्र परिपुष्टी गरिदैछ र हुदैछ । त्यो पनि गणतन्त्रात्मक लोकतन्त्रका हिमायतीहरुबाट नै यस्तो दुर्भाग्यपूर्ण स्थितिको सिर्जना गरिनु अत्यन्तै बिडम्बनापूर्ण स्थितिको द्योतक हो ।
नेपालको राष्ट्रिय राजनीतिमा उत्पन्न यस्तो अबाञ्छित र अप्रिय स्थिति बिकासले राजनीतिक सतहभित्र के कस्तो खिचडी पाक्दैछ र पाक्नेछ भन्ने कुराको संकेत गर्दछ । पहिलो कुरा त एकातिर यस स्थितिले देशमा जनता तथा राष्ट्रका हितमा सार्थक र अग्रगामी संविधान बन्ने कुरामा नै ठूलो प्रश्न चिन्ह खडा गरेको छ र अझ गर्दै जानेछ । दोश्रो कुरा देशको राजनीति अत्यन्तै पराश्रयी र परमुखापेक्षी बनेर गएको छ । राजनीतिक दलहरुमा आत्मबिश्वास र निर्णय क्षमतामा ठूलो ह्रास आएको र अभाव रहेको छ । उनीहरुले जनता र देशको चाहना, आकांक्षा, मर्म र भावनाको उपेक्षा गर्नु पछाडिको मूल कारणले नै यही भएको छ । तेश्रो कुरा देश र जनताका समस्या समाधान बन्ने भन्दा पनि झन पछि झन जटील र समाधानहीन दिशातिर धकेलिने छन् । जसको अहिले कसैले परिकल्पनासम्म पनि गर्न सकेको छैन ।
वास्तवमा जब राजनीतिबाट त्याग, समर्पण, निष्ठा, नैतिकता र नीति हराउँदछ त्यो केवल अवसरको खोजी गर्ने औसरवादीहरुको एउटा थलो मात्र बन्न पुग्दछ । त्यस्तो स्थितिमा जनतालाई ‘मृग मरिचिका’ देखाएर फाइदा लुट्ने काइदाको मात्रै बोलबाला, धाकरबाफ र तुजुक देखिने गर्दछ । अहिलेको नेपालको राजनीतिक अबस्था यो भन्दा कुनै अर्थमा भिन्न छैन । कसैले शाब्दिक बुद्धिबिलास वा ‘डेण्टिङ्ग पेण्टिङ्ग’ गरेर राष्ट्रिय राजनीतिलाई प्रस्तुत गर्न खोजे पनि यो कटु यथार्थ फेरि पनि देखा पर्ने र ढाकछोप हुन नसक्ने स्थिति नै कायम रहने छ ।
वास्तवमा जब जनताको मतलाई अनादर गर्ने र त्यसको दुरुपयोग गर्ने कृयाकलापलाई नै राजनीतिको पगरी गुथाउने गरिन्छ त्यसबेलासम्म मुलुकी राजनीतिमा जनता र राष्ट्रका समस्या हल हुने कुनै झिनु आशा समेत गर्न सकिदैन । राजनीतिलाई आफ्नो बिर्ता सम्झने पुरानै सामन्ती सोच र आचरणका बाहक राजनीतिक शक्ति र दलहरुले जनतालाई अल्मल्याउने र निराश तुल्याउने कुरा नै फेरि पनि राजनीतिमा चरितार्थ भएर जान्छ । अहिलेसम्मको राजनीतिक गतिबिधिहरुको ठोस बिश्लेषणको निचोड यो भन्दा अर्को निस्कन सकेको छैन र यस प्रकारले निस्कन सक्ने पनि छैन । यो अहिलेसम्मको यथार्थ अनुभवको अखण्ड निष्कर्ष हो ।
यस्तो स्थितिमा निर्वाचनको कर्मकाण्ड पूरा भएको जस्तो हुनु, त्यसबाट मरीतरी संविधान सभाको गठन हुने स्थिति बन्नु र एउटा कुनै न कुनै प्रकारको सरकार सञ्चालन गर्ने दैनन्दिन कार्य शुरु हुनुलाई मात्र कुनै सार्थक महत्व दिइरहनुपर्ने र के के न भएको जस्तो महत्व दिइरहनु पर्ने आवश्यकता हुदैन । किनभने यी सबै कुरा साधन मात्र हुन् । साध्य त केवल देश र जनताको र्सबतोमुखी कल्याण तथा शतत समुन्नति, समानता न्याय मात्र हो र यी निरन्तर चलिरहनु पर्ने आधारभूत कुरा नै हुन् ।
त्यसैले यतिबेला राजनीतिका आफुलाई मूल खेलाडी ठान्ने नेपाली काग्रेस, एमाले र एमाओवादीहरु के भन्दछन् भन्दा पनि उनीहरु के गरिरहेका छन् तिनका कृया कलाप हेर्दा कसैले पनि चित्त बुझाउने र भरपर्ने कुनै सुरक्षित ठाउँ छैन । जताततै भत्के बिग्रेकै स्थितिको बीचबाट नेपाली जनता र राष्ट्रले गुज्रिरहनु परिरहेको छ । वास्तवमा यो राष्ट्रको जीवनमा एकदमै कमजोर स्थितिको द्योतक कुरा पनि हो । यस्तो अबस्थामा ब्यापक र अग्रगामी परिवर्तन ल्याउन नसकेसम्म फेरि पनि जनता र देशले नयाँ नयाँ दुःखकष्टका एकपछि अर्को श्रृंखला ब्यहोर्नुभन्दा अर्को कुनै बिकल्प खडा हुन सक्ने देखिदैन ।
अझै अर्को महत्वपूर्ण पक्ष के छ भने देश र जनताको यस्तो नाजुक स्थितिमा नै बाहृय चलखेल, दबाव र प्रभाव पनि अत्याधिक बढेर जाने हो । जुन कुराको अनुभव हामी अहिले नै पनि अत्यन्तै आक्रान्त भएर गरिरहेका छौं । यसले पहिलादेखि नै परनिर्भर रहेको नाजुक अर्थतन्त्रलाई अझ कमजोर बनाउदै लैजान्छ भने राजनीतिलाई पनि अझ पराश्रयी तुल्याउने काम गर्दछ । सामाजिक र साँस्कृति महत्वपर्ूण्ा संरचनाहरु पनि नराम्रोसँग खल्बल्याइदिन्छ । अनि आफ्नै राष्ट्रिय गौरबका असल परम्पराबाट काटिन पुग्दछौं र यसरी हामी हाम्रो राष्ट्र, राष्ट्रियता र सार्वभौमिक अक्षुण्णतालाई पनि सही किसिमले जोगाउन र सुदृढ तुल्याउन नसक्ने अवस्थामा पुग्दछौं । यस्तो अबस्थाले नै अझ बढी बहिर्मुखी बन्न पुग्दछौं । यी सबै कुराले हाम्रो आत्मबिश्वास, राजनीतिक इच्छाशक्ति र राष्ट्रिय बिशिष्ठ चरित्रलाई नै अझ कमजोर र संदिग्ध बनाउदछ । अनि पछौटेपनालाई हामी निरन्तर घिसारिरहेका हुन्छौं । यो कटु वास्तविकतालाई आत्मबोध नगर्ने र यसलाई नफेर्ने तर पुरानै गलत परम्परालाई काखी च्यापेर आधुनिक र बिकसित भएको पाखण्ड प्रदर्शन गर्ने हो भने राजनीतिक परिवर्तनको दुहाई दिएर मात्र केही हुने छैन । यो केवल निरन्तर निराशाको श्रोत मात्र बनिरहनछ । जुन नेपाली जन आन्दोलनको चाहना र अपेक्ष बिल्कुलै होइन ।
त्यसैले निराशाको अँध्यारो सुरुङ्गबाट राष्ट्रिय राजनीतिलाई बाहिर निकाल्ने हो भने सबै कुरा ब्रि्रेर सम्हालिनसक्नु स्थितिमा पुग्नुभन्दा पहिला नै सावधान हुनु अत्यावश्यक छ । अन्यथा पछि पछुताउनु बाहेक अरु केही हात लाग्ने छैन । यो अबश्यंभावी परिणतिमा पुग्नुभन्दा जनता र राष्ट्रको हितमा नीति, निष्ठा, नैतिकताको राजनीति गर्ने दृढ संकल्प र अठोटकासाथ अघि बढ्ने प्रण मात्र गर्ने हो भने पनि त्यो यतिबेला देश र जनताका लागि ठूलो गुन लगाएको ठहरिने थियो । तर के हाम्रो राष्ट्रिय भूमिकामा पुगे पुर्याएका राजनीतिक नेतृत्वले यस्तो सोच बिचार राखेर अघि बढन तयार होला यो गम्भीर प्रश्न खडा हुन्छ । किनभने अहिलेसम्म रित्ता आश्वासन बाड्ने र सपना देखाउने काम मात्रै हुँदै आएको छ ।