वीरगन्ज – शितलहर पीडित पर्सा गादी–४ वेल्वाका मुसहर समुदायलाई राजधानीबाट आएका यूवाहरुको एक समूहले शनिबार राहत वितरण गरेको छ । जोरपाटी गाविसबाट १४ जनाको समूदायमा आएका सो समूहले ५० मुसहर परिवारका तथा १० थारु परिवारलाई कम्बल, लत्ता कपडा तथा खाद्यान्न सहयोग गरेको छ ।
‘न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताउँदै आएको खबर थाहा पाएपछि आएका हौ’, धनप्रसाद लामिछानेले भने – ‘सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ १ सय ५० केटाकेटी तथा महिला पुरुष र बृद्ध गरी २ सयभन्दा बढीलाई आवश्यक कपडा वितरण गरेको उनले सुनाए ।
राहत वितरण गरेपछि मुसहर समुदायका साथ सामुहिक तस्वीर खिचाउदै काठमाडौ जोरपाटीका यूवा ।
न्यानो कपडाको अभावमा गाउँमा बृद्ध–बृद्धा तथा केटाकेटीले निक्कै दुःख पाएको यहाँ आएपछि आफूहरुले महसुस गरेको माधव लामिछानेले बताए । दलित समुदायको कष्टकर जीवन देखेपछि लामिछानेले आफुले लगाएका दुईवटा ज्याकेट समेत फुकालेर दिए। ‘केही अपुग भएपछि आफैले लगाएको ज्याकेट फुकालेर दिएको हुँ’, उनले सुनाए ।
राहत पाएपछि स्थानिय निक्कै खुसी भए । ‘कुहिरोमा लत्ता–कपडा र खाद्यान्न बोकेर क्रिसमसको अघिल्लो दिन आएका उनीहरु ‘सान्ताक्रुज’ जस्ता देखिन्थे’, नेराप्रावि वेल्वा पर्साका प्रधानअध्यापक द्वारीकाप्रसाद उपाध्यायले भने– ‘न्याना कपडा पाउँदा केटाकेटीहरु फुरुङ्ग भए।’ तराईबासी चिसोमा रहँदा राजधानीका यी यूवाले गरेको सहयोग निक्कै सरहानीय भएको उनले सुनाए । ‘अन्यले पनि यस्तै गर्दै जाने हो भने हामीले कसैको मुख ताक्नु पर्ने थिएन’, उनले सुनाए ।
राहतको पोको लिएर घर फर्कदै गरेका मुसहर समुदायले अब जाडोबाट केही भएपनि राहत मिल्ने बताए । ‘मेरै छोरीले स्वीटर, छोराले ज्याकेट र मैले ओढ्ने पाएँ’, पार्वती माझीले भनिन् –‘हामीलाई यसले राहत मिल्ने छ ।’
सहयोग गरेको राहत सामाग्री लैजादा पर्सा वेल्वाका शितलहर पिडित मुसहर समुदाय ।
शितलहर पीडितका लागी माउन्ट मनसालु पस्मिना उद्योगका प्रोपाईटर धनप्रसाद लामिछानेले १ सय थान पस्मिना सल वितरण गरेका थिए । त्यसैगरी उक्त समूहले ७ सय ५० केजी चामल, ४० केजी दाल, नुन लगायतका सामाग्री समेत वितरण गरेको थियो ।
सहयोग गर्ने यूवाहरुमा जोरपाटीका धनप्रसाद लामिछाने, माधव लामिछाने, सीताराम लामिछाने, नारायण सुवेदी, सरोज पुडासैनी, परशुराम गौतम, सन्तोष बराल, ध्रुव हुमागाई, गणेश श्रेष्ठ, भुपेन्द्र बोहरा, राम श्रेष्ठ, सुन्दर श्रेष्ठ थिए ।