काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक पत्र लेख्दै केन्द्रीय सदस्य भरत बम ‘रणवीर’ले पार्टीले जनयुद्धको मर्मविपरीत काम गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
श्रद्धय अध्यक्ष क. प्रचण्ड
एकीकृत नेकपा (माओवादी)
पेरिसडाँडा, काठमाडौं । मितिः ०७८/०९/०९
अभिवादन,
राष्टियता, जनतन्त्र र जनजिविकाको मुद्धालाई वास्तविक अर्थमा नेपाली धर्तीमा लागु गर्न र वर्गीय मुक्ति संघर्षलाई विश्वब्यापी बनाउँदै वर्गविहिन समाज निर्माणको महान उद्देश्यसहित हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा माओवादीले ऐतिहासिक जनयुद्धको संखघोष गर्यो । त्यही ऐतिहासिक पहलकदमी थाल्नुअघि पार्टीकै बैधानिक मोर्चा तत्कालीन संयुक्त जनमोर्चा नेपालको नाममा तत्कालीन सरकारसमक्ष ४० सुत्रीय माग पेश गर्यो । सोही मोर्चाको नामबाट क. बाबुराम भट्टराईले पेश गर्नुभएको मागमा राष्टियतासँग सम्बन्धित ९ वटा बुँद्धा क. भट्टराई नै प्रधानमन्त्री भएको बेला उपेक्षित बनेका छन् । उल्टै राष्टघाती बिप्पा सम्झौता गरेपछि राष्टिय स्वाधिनताको सवाल झन् गम्भीर बनेको छ ।

पार्टीले जलश्रोतबारे भएका सम्झौताको विषयमा हाल लिएको पुर्न वार्ताको नीति र निर्णय अपर कर्णाली सम्झौता (जो राष्ट्रघाती छ, जीएमआरले निर्माणका लागि लाइसेन्स लिने प्रक्रिया अगाडि बढाइसकेको छ)को सन्दर्भमा अपर्याप्त छ । यति मात्रै हैन, यसले पार्टी र पार्टी नेतृत्वप्रति गम्भीर आशंका उठ्ने स्थिति पैदा भएको छ । त्यसैले उक्त परियोजनाको सम्झौता खारेज गर्नुुपर्ने आवश्यकता छ । र, यो निर्णय जारी केन्द्रीय समिति बैठकले गर्नको लागि जोडदार माग गर्दछु ।
धन्यवाद ।
भरत बम ‘रणवीर’
केन्द्रीय सदस्य
तथा
सह सेक्रेटरी
भेरी कर्णाली राज्य समिति
एकीकृत नेकपा (माओवादी)