नेपालमा अहिले आमसञ्चारका साधनको बाढी नै आएको छ । त्यो बाढी विशाल नदीमा आएको बाढीजस्तो शालीन नभएर हरेक वर्ष गडगडाउने खहरे खोलाजस्तै छ । खहरे कहाँ गएर अलपत्र पर्छ ठेगान हुँदैन, त्यसैगरी नेपाली सञ्चार गृहको अवस्था पनि त्यस्तै छ । २०७० साल लाग्नुपूर्वको अवस्था हेर्दा नेपालमा इजाजत प्राप्त रेडियोको संख्या ४८० छ भने नियमित प्रसारणमा रहेका ३६० छन् । यस्तै, ३० वटा टेलिभिजन प्रशारण संस्थाले अनुमति पाएका छन् । यसमा झण्डै डेढ दर्जनले त प्रशारण नै आरम्भ गरेका छन् भने अनुमति नलिई प्रशारण गर्ने केही टेलिभिजनमाथि सरकारले कारबाही पनि अगाडि बढाएको छ । सूचना विभागले प्रकाशन गरेको मिडिया डाइरेक्टरी २०६९ अनुसार, २०६८ चैतमसान्तसम्म दर्ता भएका पत्रपत्रिकाको संख्या छ हजार २२१ छ । जसरी संस्थाहरूको संख्या बढ्दो छ, त्यसैगरी आमसञ्चारकर्मीको संख्या पनि बढ्नु स्वाभाविक नै हो । आमसञ्चारका संस्था र सञ्चारकर्मीको संख्या ह्वात्तै बढेपछि यस क्षेत्रमा राम्रो विकास पनि भएको छ । त्यसका साथै विकृति र विङ्गतिको शृङ्खला पनि तीव्र गतिमा अगाडि बढेको छ ।
विभिन्न आरोह अवरोध पार गर्दै आएका नेपाली आमसञ्चार माध्यमले २०६३ सालको अन्तरिम संविधान आएपछि कोल्टे फेरेका छन् । संवैधानिक र कानुनी प्रत्याभूति हुनुले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो छ । आमसञ्चारको संख्यात्मक वृद्धि बढे पनि जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारीपनमा भने ह्रास आएको छ । सबैलाई लगाम लगाउने, अनुशासन र कर्तव्यबोध गराउने सञ्चारकर्मी आफैं पनि इमान्दार नबन्ने, आफ्नो पेशाप्रति उत्तरदायी नहुने, देश र जनताप्रति भन्दा मालिक र आफ्नो स्वार्थप्रति बढी केन्द्रित हुने प्रवृत्ति बढ्दो छ । सञ्चारकर्मी समाजका अक्सिजन हुन्, सञ्चारकर्मीले नागरिकलाई सास फेर्न सजिलो पारिदिन्छन् । अक्सिजन स्वच्छ र हानिरहित हुनुपर्छ नत्र रोगीको ज्यान जान सक्छ । अहिलेको समाजमा कोही डराउँछ भने त्यो मिडियादेखि डराउँछ । सञ्चारकर्मी भनेको त्यो शक्ति हो जसले संसार हल्लाउन सक्छ, जनमत बदल्न सक्छ, हजारौं बन्दुक र तोपले ढाल्न नसकेको सत्ता र शक्तिलाई ढालिदिन सक्छ । तर त्यो आफ्नो शक्तिलाई चिन्न सक्नुप¥यो सञ्चारकर्मीले पनि । व्यापारी, नेता राष्ट्रवादी नहुन सक्छन्, व्यक्तिगत र दलगत स्वार्थमा लाग्न सक्छन्, त्यस्तो बेला सञ्चारकर्मी नै समाजको पहरेदार (वाचडग) बन्न सक्नुपर्छ न कि कसैको पाल्तु कुकुर (ल्यापडग) बन्नु भएन ।
मिडिया अहिले उद्योगको रुपमा उदाएको छ । यो उद्योग अन्य उद्योगजस्तो रातारात पैसा कमाउने उद्योग होइन । संविधानले नै विशेष व्यवस्था गरेको उद्योग हो जसको समाजप्रति विशेष दायित्व रहेको हुन्छ । कतिपय व्यक्तिहरू आफ्नो कालो धनलाई सेतोमा परिणत गर्न र समाजमा मान प्रतिष्ठा आर्जन गर्न सञ्चार क्षेत्रमा प्रवेश गरेको पाइन्छ । देखाउने पत्रकारिताको खेती गर्ने तर असली धन्दा अर्कै गर्ने र सञ्चार क्षेत्रलाई विकृत र वद्नाम बनाउने धेरै छन् । निजी क्षेत्रको विकासले ठूलै फड्को मारेको छ तर त्यहाँ काम गर्ने सञ्चारकर्मीले नौ महिनासम्म तलब नपाएको कुरा सार्वजनिक हुनु चिन्ताको विषय हो ।
अक्षरको खेती गर्नेले खेतीबाट खान नपाएपछि बाँच्नका लागि आफ्नो पेशाको धर्मको मर्म बिर्सने गर्छ । सञ्चारकर्मीको क्षमताको उचित कदर नहुनु, समयमै पारिश्रमिक नपाउनु, सञ्चार माध्यमले प्रतिस्पर्धा नै नगरी पत्रकार राख्नु, राजनीतिक दलहरुले कुनै न कुनै रुपबाट दबाव दिनु, कार्यक्षमताको आधारमा पारिश्रमिक नहुनु, सञ्चार सामग्रीको अपर्याप्तता, कामको उचित मूल्याङ्कन नहुनु, जागिरको स्थायित्व नहुनु, विज्ञ वा स्रोतब्यक्तिको अभाव, सरकारी दबाव, केही पत्रकारमा समाचार चिन्न सक्ने क्षमता नहुँदा पनि जिम्मेवारी दिइनु, स्थलगत रिपोर्टिङ्गका लागि साधनको अभाव हुनु, विभिन्न पक्षबाट अनावश्यक रुपमा दबाव आउनु, सन्दर्भ सामग्री र तालिमको अभाव हुनु जस्ता धेरै समस्याबाट सञ्चारकर्मी पीडित छन् ।
कतिपय व्यक्तिहरू सञ्चारकर्मीको आवरणमा पानपीनमा हरेक कार्यक्रममा पुग्छन्, खान्छन् पिउँछन् अनि जान्छन् तर बद्नाम हुन्छन् असली काम गर्ने जो संस्थाप्रति उत्तरदायी हुन्छन् । यस्ता खातेपिते सञ्चारकर्मीले गर्दा प्रतिष्ठित र जनताप्रति उत्तरदायी सञ्चारकर्मीको पनि मानमर्दन हुने गरेको छ । विशेष गरी होटलहरूमा हुने कार्यmक्रममा यस्ता खातेपितेहरूको भीड नै लाग्छ । यिनीहरूलाई बोलाउनु पर्दैन । खानेबेलामा सरासर आउँछन्, प्लेटमा अटुन्जेल लिन्छन् र भक्कु खाएर हिड्छन् । त्यतिमात्र होइन बिजुली पानीको समेत व्यवस्था भएका कार्यक्रमहरूमा त यस्ता खातेपितेले आयोजकहरूलाई म यस्तो र उस्तो भनेर धक्कु लगाएरु ट्याक्सी भाडासमेत मागेर टाप कस्ने गरेको गुनासो सुन्न पाइन्छ । रक्सीको प्यालामा समाचारको मापन गर्ने संस्कार विकास हुनु सिङ्गो सञ्चार क्षेत्रकै बेइज्जती हो । काम कम गर्ने, पैसा धेरै हुने गैर सरकारी संस्थाले गर्ने तडगभडगले पनि नेपाली सञ्चारकर्मीको बानी बिगारेको छ ।
सूचनाका बहाक सञ्चारकर्मी समाजका गहना हुन्, गहना राम्रो भए मात्रै समाज राम्रो हुन्छ । जो गाउँको अगुवा उही के जाति भने झैं गर्ने हो भने सञ्चारकर्मी र अन्यमा के फरक त ? सञ्चारकर्मीको छाता संगठन नेपाल पत्रकार महासंघले पनि आफ्नो गरिमालाई उचाइमा पु¥याउन खातेपिते संस्कारबाट सञ्चार क्षेत्रलाई मुक्त राख्न पहलै गर्नैपर्छ । पीत पत्रकारिता पनि विद्यमान छँदैछ । कर्म नगरी धनी हुने सपना देख्ने सञ्चारकर्मीहरूबाट सबैभन्दा बढी आचार संहिताको उल्लघन हुने गरेको छ । प्रविधिको तीव्र विकासले कोल्टे फेरेको छ । पत्रिका छाप्न अब प्रेससम्म पुग्न नपर्ने भएको छ । त्यसैले प्रेस काउन्सिलमा बुझाउनकै लागि आठ दश कपी तयार गरेर बुझाउने अनि सरकारले उपलब्ध गराएको सुविधाको उपभोग गर्ने प्रवृत्ति खतरनाकरुपमा बढेको छ । अनुगमन गर्ने निकाय छैन भनौं छ र छ भन्दा कहाँ छ ? भनेर बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । अनुगमन गर्ने निकायका हामिक साबलाई रेडलेबल, डब्बल ब्ल्याकलेबल र ग्रिन लेबल पु¥याएरु आफ्नो पत्रिकाको श्रेणी उचाल्ने र सरकारी सुविधा हसुर्ने सञ्चारकर्मी पनि हामी नै भएका छौं । हाम्रो इज्जत त ‘दिनभरि बाहुन रात परेपछि सिसीमुनि डाउन’ भन्ने भनाइ जस्तै भएको छ । मिडिया यत्ति शक्तिशाली अस्त्र हुन्, यी अस्त्रलाई सही कार्यका लागि सदुपयोग गर्न सकियो भने मनमतिष्क परिवर्तन गर्न सकिन्छ, जनमत बदल्न सकिन्छ, त्यसैले भनिएको होला शायद ‘आलुले सरकार ढाल्छ’ भनेर । ***