टोकियो – नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) जापानको शनिबार टोकियोमा १९ औं महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले श्री गुरुङको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्धि गौचन चयन हुनुभएको छ भने अन्य उपाध्यक्षहरुमा थानु राना मगर, पासाङ रिञ्जी शेर्पा, विनोद तामाङ, रणबहादुर लिम्वु (शिशिर निङ्लेकु) र राजनकुमार श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जानकारी गराएको छ । यसैगरी महासचिवमा बालबिक्रम तिगेला, सचिवहरुमा टेकन गुरूङ, कमल मगर र प्रमिला गौचन डंगोल चयन हुनुभएको छ भने कोषाध्यक्षमा सारा श्रेष्ठ र प्रवक्तामा बिष्णुकुमार आङ्देम्वे चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा अरमान गुरूङ, याङ्जी शेर्पालाई चयन गरिएको छ भने बाँकी सदस्यहरु नवगठित कार्यसमितिका पहिलो बैठकले मनोनित गरिने भएको छ ।
महासंघका अध्यक्ष हवलचन्द्र लामाको सभापतित्व र एनआरएन जापानका अध्यक्ष नबिन निउरेको प्रमुख आतिथ्यतामा भएको सो महाधिवेशनमा उपस्थित अतिथिहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । महाधिवेशनको बन्दसत्रले महासचिव प्रमिला राई र कोषाध्यक्ष कान्छा लामाद्वारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
संयोजक सुमन लिम्बु, सदस्य-सचिब गेलु शेर्पा र सदस्य बिजय थकाली रहेको निर्वाचन समितिले आगामी दुई वर्ष कार्यकालका लागि सर्बसम्मत कार्यसमिति गठन प्रक्रिया सम्पन्न गरेको हो ।
समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष श्री गुरुङले तमु धीं जापान र गुरुङ समाज जापानबीच विद्यमान अन्यौलतालाई छिटोभन्दा छिटो समाधान गरी एक ढिक्का बनाई महासंघ जापानलाई अझ बलियो र सशक्त बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
महाधिवेशन समारोहलाई समापन गर्दै सभाध्यक्ष हवलचन्द्र लामाले विशेष परिस्थितिवश छोटो समयका लागि आफुले महासंघको नेतृत्व सम्हाल्ने अवसर पाएको र यो अवधिमा महासंघको विरासतलाई अझ उच्च बनाउने कार्यमा संभवभएसम्मका भरमग्दुर प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो -‘बदलिएको समय र परिस्थितिअनुसार महासंघमा अझै गर्नुपर्ने कामहरु धेरै छन् नवगठित कार्यसमितिले कार्यभार सम्हालेसंगै देखिनेगरी परिणाम निकाल्नेमा विश्वस्त छु ।’
सन् १९९९ मा स्थापित नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्वदायी भूमिका पाउनुभएका गुरुङ पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष हुनुहुन्छ भने तमु धीं जापानको पूर्व अध्यक्ष समेत रहीसक्नुभएका गुरुङ हाल नेपाली व्यवसायी संघ (NBA) जापानको उपाध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ ।***