टोकियो – टोकियो नजिकैको चिबा प्रान्तस्थित एक सपिङ मलको पार्किङ स्थलमा पेपर स्प्रे प्रहार गरी ४० जनाभन्दा बढीलाई घाइते बनाएको आरोपमा एक अमेरिकी नागरिकलाई शनिबार पक्राउ गरिएको छ । स्थानीय प्रहरीले दिएको जानकारीअनुसार, आक्रमणको कारण सामान्य विवाद रहेको थियो ।
प्रहरीका अनुसार, घटना चुरोटको धुवाँको विषयमा भएको विवादबाट सुरु भएको थियो । सोही क्रममा ती अमेरिकी नागरिक, लिन एरिक येन जुले आफ्नो कारमा रहेको पेपर स्प्रे निकालेर प्रहार गरेका थिए । उनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । अनुसन्धानकर्ताहरूले उनलाई उद्धृत गर्दै भनेका छन् कि उनीमाथि ‘पनि आक्रमण भएको थियो ।’
चिबा प्रान्तमै बसोबास गर्ने ५१ वर्षीय स्वघोषित कन्सल्टेन्ट लिन एरिक येन जुमाथि शुक्रबार दिउँसो करिब २:४० बजे इन्जाईस्थित आयोन मल चिबा न्यू टाउनको पार्किङमा ६९ वर्षीय र ७२ वर्षीय दुई पुरुषको अनुहारमा स्प्रे छर्केको आरोप छ ।
घटनामा परी कुल ४४ जना पुरुष तथा महिलाले आँखा र घाँटी पोलेको गुनासो गरेका थिए, जसमध्ये १२ जनालाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । यद्यपि, कसैको पनि चोट ज्यान लिने किसिमको नरहेको प्रहरीले स्पष्ट पारेको छ ।