समाचार सुन्नुहोस :
काठमाडौँ – झारखण्डमा सक्रिय रहेको प्रतिबन्धित उग्रवादी समूह झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी) का शीर्ष नेता पप्पु लोहारा प्रहरीको इन्काउन्टरमा मारिएका छन्।
शुक्रबार राति लातेहार जिल्लास्थित सलैया जंगल नजिकै सुरक्षाकर्मी र उग्रवादीबीच भीषण मुठभेड भएको थियो। उक्त भिडन्तमा पप्पु लोहारा सहित संगठनका अर्का एक सदस्यको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ।
लातेहारका प्रहरी प्रमुख कुमार गौरवका अनुसार, मुठभेडमा एक जना अन्य उग्रवादी घाइते भएका छन् भने घटनास्थलमा अझै पनि खोजी कार्य जारी रहेको छ। उनले अनुसन्धान र अप्रेसन पूर्ण नभएसम्म थप विवरण सार्वजनिक नहुने बताएका छन्।
झारखण्ड सरकारले पप्पु लोहाराको पक्राउ वा जानकारी दिनेलाई १० लाख भारतीय रुपैयाँ इनामको घोषणा गरेको थियो। उनी लातेहार जिल्लाकै लुंडी गाउँ निवासी थिए। प्रहरीको भनाइअनुसार यो इन्काउन्टर क्षेत्रीय सुरक्षाका दृष्टिले ठूलो सफलता मानिएको छ।