समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
काठमाडौँ – नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाले राजसंस्थाप्रति समर्थन जनाएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई पूर्णतः असत्य र भ्रामक भएको स्पष्ट पारेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले केही सञ्चारमाध्यमहरूमा देउवाले हृदयेन्द्र शाह राजा बनेमा समर्थन जनाउने भनिएको समाचारप्रति खण्डन गर्दै यस्ता समाचारहरू मनगढन्ते र वास्तविकता विपरीत रहेको उल्लेख गरेको छ। देउवा लोकतान्त्रिक गणतन्त्रप्रति दृढ प्रतिबद्ध रहेको भन्दै पार्टीले झूटो प्रचारप्रति गम्भीर आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरूले आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि सभापति देउवाको भनाइ भनेर भ्रामक समाचार फैलाउनु अनैतिक र निन्दनीय कार्य हो। उनले न बोलेको, न भनेको र न सोचेको कुरा गलत रूपमा प्रचार गर्नु पत्रकारिताको सिद्धान्तविपरीत छ।’
यस्ता कपोकल्पित समाचारहरू प्रसारण गर्नु गम्भीर विषय भएको भन्दै कांग्रेसले यस्ता गतिविधिको कडा भर्त्सना गरेको छ। साथै, यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न पार्टीले आम नागरिकलाई आग्रह गरेको छ।