समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूलाई सरकारको उदारतालाई कमजोरी नसम्झन चेतावनी दिएका छन्। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजावादीहरूले सभा सञ्चालन र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरी संविधान उल्लंघन गरिरहेको भन्दै यसलाई सरकारले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन्।
गुरुङले राजावादीहरूको हिंसात्मक गतिविधि—हत्या, लुटपाट, आगजनीलाई चुनौती बताए। उनले संविधान विरोधी कार्यहरू बढ्दै गएकाले सरकारले आवश्यक कारबाही गर्ने बताए। यद्यपि, अहिलेसम्म प्रतिबन्ध नलगाएको उनले जिकिर गरेका छन्।
उनले जेठ १५ मा गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी रहेको जानकारी दिए। परिवर्तनका लागि महत्त्वपूर्ण योगदान गरेको दलहरू गणतन्त्रका पक्षमा एकै ठाउँमा रहेको पनि उनले बताएका छन्।