टोकियो – जापानको होक्काइडोस्थित मुरोरान शहरमा प्रहरीले एक ७८ वर्षीय वृद्धलाई आफ्नी ७६ वर्षीया श्रीमतीको अनुहारमा सिरानीले प्रहार गरी मृत्यु गराएको आशंकामा पक्राउ गरेको छ ।
स्थानीय प्रहरीका अनुसार, रयो मुराई नामक ती व्यक्तिले मे १७ को बिहान करिब १ः३० बजे आफ्नी श्रीमती साचिकोको अनुहारमा सिरानीले पटक–पटक प्रहार गरेका थिए । जापानी समाचार संस्था एनएचकेले सो घटनाबारे रिपोर्ट गरेको हो ।
श्रीमती बेहोस भएपछि मुराई आफैंले आकस्मिक सेवा ११९ मा फोन गरेका थिए । साचिकोलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा सोमबार उनको मृत्यु भयो ।
प्रहरीले जनाएअनुसार, मुराईले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । उनले प्रहरीसमक्ष भनेका छन्, ‘हाम्रोबीचमा विवाद भएको थियो र मैले उनलाई हिर्काएँ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।