समाचार सुन्नुहोस :
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच शिष्टाचार भेटवार्ता भएको छ। यो भेट सगरमाथा संवाद कार्यक्रमको साइडलाइनमा होटल सोल्टीमा आयोजना गरिएको थियो। भेटवार्ताका क्रममा मन्त्री राणाले जापानी उपविदेशमन्त्रीलाई सगरमाथा संवादमा सहभागिता जनाउनुभएकोमा धन्यवाद दिइन्। साथै, सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मतका लागि जापान सरकारले गरेको आर्थिक सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिन्।
यसैगरी, दुबै नेताबीच नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग र अन्य साझा विषयमा छलफल भएको थियो। मन्त्री राणाले नेपालको विकासका विभिन्न क्षेत्रमा जापानले दिँदै आएको दीर्घकालीन सहयोगको प्रशंसा गरेकी छन्। विशेष गरी जलवायु परिवर्तनजन्य चुनौतीमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको मुद्दामा जापानको समर्थन र सहकार्यको लागि आग्रह पनि गरेकी छन्।