टोकियो – गत ७ तारिख बुधबार साँझ टोकियो मेट्रोको तोदाइमाय स्टेशनमा एकजना ४३ वर्षिय संदिग्ध जापानीले चक्कु प्रहार गर्दा २० वर्षिय युवक घाइते भएका छन् । तोदा योशिताका नाम गरेका ती ब्यक्तिले ट्रेन स्टेशनको प्लेटफर्ममा ट्रेन कुरिरहेका अर्का २० वर्षिय युवकमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् ।
जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार साँझको करिव ७ बजे तिर स्टेशनमा रोकिएको नाम्बोकु लाइनको ट्रयाकमा विश्वविद्यालय तेस्रो वर्षमा अध्ययनरत एक पुरुष विद्यार्थीलाई ती संदिग्ध ब्यक्तिले करिव १६ सेन्टीमिटर लम्बाई भएको किचनमा प्रयोग गरिने धारिलो चक्कुले टाउको र शरीरका अन्य भागहरूमा अन्धाधुन्ध प्रहार गरेका थिए ।
आक्रमणकारी तोदालाई घटनास्थलमै पक्राउ गरिएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार ७ तारिखका दिन तोदा नागानोकेनबाट टोकियो आइपुगेको खुलेको छ । उनी अपरान्ह ४ बजेतिर नजिकैको होङ्गो-सान्चोमे स्टेशन नजिकै किनमेल गर्न गएका थिए, लगभग ६:२० बजेतिर तोदाईमाय स्टेशनमा प्रवेश गर्नु अघि उनी शौचालय गएका थिए भने त्यसपछि उनी प्लेटफर्मको अगाडि एक जना मानिसको पछाडि लाइनमा उभिएका थिए । अगाडिका युवा रेल चढ्ने प्रयास गर्दैगर्दा उनको घाँटीमा धारिलो चक्कु प्रहार गरेका थिए । त्यसपछि पनि उनले ती युवालाई लखेट्ने क्रममा ती युवा पछाडि फर्केर हेर्दा उनको निधारमा पनि प्रहार गरिएको थियो । त्यसपछि ती युवा ढल्न पुगे, ठीक त्यति नै बेला देब्रे हातमा पनि चक्कु प्रहार गरियो । त्यसपछि पनि ती संदिग्ध ब्यक्तिले चक्कु उठाएर आतंक मच्चाईरहेका बेला ३४ वर्षिय एक नेपाली सहित ३ जना यात्रुहरूले ती ब्यक्तिलाई नियन्त्रणमा लिएका थिए । जापानी सञ्चार माध्यमहरुले ती नेपाली युवाको अहिले ब्यापक खोजी गरिरहेका छन् । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सुरक्षा तथा गोपनियताका कारण प्रहरीले उनको नाम खुलाएको छैन ।
यता ती संदिग्ध ब्यक्तिको झोलामा अर्को पनि १८ सेन्टीमिटरको चक्कु फेला परेको बताईएको छ । विश्वविद्यालयका घाइते विद्यार्थीले आफूले तोदालाई नचिनेको बताएका छन् ।
हाल जापानमा सार्बजनिक ठाउँमा अन्धाधुन्ध पछाडिबाट चक्कु प्रहार गर्ने घटना बाक्लिदैं जान थालेको छ । चिनजानै नभएको अज्ञात ब्यक्तिमाथि चक्कु प्रहारका घटना बाक्लिदैं जाँदा शान्त र सुरक्षित मानिएको देश जापान पनि अब ढुक्कले हिडडुल गर्न सोच्नैपर्ने भएको छ ।
३ हप्तामात्र अगाडि मात्र शिन्ज्युकुको ताकादानोबाबा स्टेशन नजिकै आफ्नो मोबाइलमा लाइभ गरिरहेकी आइरी सातो नाम गरेकी एक २२ वर्षिय युवतीमाथि ४२ वर्षिय केनिची ताकानो नाम गरेका पुरुषले अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेको घटना सेलाउन नपाउँदै टोकियो मेट्रोको तोदाईमाय घटनाले जापानको सुरक्षा निकायमाथि चुनौती थपिएको छ ।
सन् २०२१ को डिसेम्बरमा पहिलोचोटी सातोको लाइभ देखेपछि चिनजान भएका ती दुईबीच सन् २०२२ को समरमा पहिलोचोटी भेटघाट भएको थियो । भेटका क्रममा सातोले आफ्नो ब्यवहार चलाउन २० लाख येन सापटी सहयोग मागेको र ताकानोले पनि सहर्ष स्वीकार गरी उक्त रकम ट्रान्स्फर गरेका थिए । तर सातोले उक्त रकम फिर्ता नदिएका कारण ताकानोले आवेशलाई नियन्त्रण गर्न नसकी हत्या गर्न पुगेको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरुको आशंका छ ।
अनुसन्धानका क्रममा हत्यामा संलग्न ताकानोले आफुले सातोलाई गरेको आर्थिक सहयोग फिर्ता नपाएकोले यसबारे संसारले थाहा पाउन् भनेर हत्या गर्न पुगेको बताएका छन् ।
सोधपुछका क्रममा ताकानोले करिव २, ३ महिना अगाडि उक्त धारिलो चक्कु अनलाइनमा मगाएको बताएका छन् ।छानबिनका क्रममा उनीसंग अर्को एक धारिलो चक्कु पनि भेटिएको छ ।
यात्रा गर्दा वा कतै निस्कदा यतिबेला उच्च सतर्कता अपनाउन र आफ्ना सम्पर्कका सबैलाई सजग बनाउन जिम्मेवार सबैको भूमिका अपेक्षित छ ।
(टोकियो मेट्रो तोदाई माय स्टेशनमा हालै भएको चक्कु आतंकका नाइकेलाई नियन्त्रणमा लिन सहयोग गर्ने ३ ब्यक्ति मध्यको एक ३४ वर्षिय नेपाली युवा यदि कसैले चिन्नुहुन्छ भने कृपया सम्पर्कमा ल्याई सहयोग गरिदिनु हुन अनुरोध छ।)