समाचार सुन्नुहोस :
काठमाडौं, बैशाख २६ — ठमेलको सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो एक भवनमा आगलागी भएको छ। प्रहरीका अनुसार दिउँसो करिब १२:३० बजे उर्मिला श्रेष्ठको स्वामित्वमा रहेको चार तले पक्की घरको दोस्रो तलाबाट आगो सुरु भएको हो।
प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाका अनुसार सो दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई ‘फुलमुन क्लब’ सञ्चालन गरिरहेका थिए। क्लब सञ्चालन भइरहेको स्थानमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगोले दोस्रो र तेस्रो तलामा क्षति पु-याएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणमा ल्याउन काठमाडौं महानगरपालिकाका तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा पानी ट्याङ्करको सहयोगमा एक घण्टा प्रयास गरेपछि आगो नियन्त्रणमा आएको थियो। हालसम्म आगलागीबाट भएको क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरी र सम्बन्धित निकायहरूले थप अनुसन्धान गरिरहेका छन्।