टोकियो – जापान भ्रमणमा आएका विदेशी पर्यटकहरूले सार्वजनिक स्थानहरूमा डस्टबिनको अभावलाई आफ्नो यात्रा अवधिको सबैभन्दा ठूलो असुविधा भएको बताएका छन् । जापान भ्रमणपछि देश फर्किन लागेका पर्यटकहरूमाथि गरिएको हालैको सरकारी सर्वेक्षणले यो तथ्य उजागर गरेको हो ।
जापान पर्यटन एजेन्सीद्वारा सञ्चालित सो सर्वेक्षणमा देशका पाँच प्रमुख विमानस्थल न्यू चितोसे, नारिता, हानेडा, कान्साई र फुकुओकाबाट प्रस्थान गर्न लागेका ४ हजारभन्दा बढी विदेशी पर्यटकलाई सहभागी गराइएको थियो । तीमध्ये २१ दशमलव ९ प्रतिशतले सार्वजनिक स्थानहरूमा डस्टबिन नहुनु आफ्नो भ्रमणको क्रममा सबैभन्दा असहज अनुभव भएको बताएका छन् । यो तथ्य अघिल्लो वर्षको तुलनामा करिब आठ प्रतिशतले सुधार भएको देखिए पनि, डस्टबिनको अभाव अझै व्यापक असुविधाको कारण बनेको सर्वेक्षणले देखाउँछ ।
थुप्रै पर्यटकहरूले फोहोर फाल्न ठाउँ नपाएर त्यसलाई होटलसम्म बोक्नुपरेको गुनासो गरेका छन् । कुनै समय जापानका सार्वजनिक स्थानहरूमा प्रशस्त डस्टबिन देखिन्थे । तर, सन् १९९५ मा टोकियो सब’वेमा भएको सारिन ग्यास आक्रमण तथा सन् २००४ मा म्याड्रिड ट्रेनमा भएको बम विस्फोट जस्ता घटनापछि सुरक्षा कारण देखाउँदै सार्वजनिक डस्टबिनहरू हटाइएका थिए । यसको प्रत्यक्ष असर पर्यटकीय क्षेत्रहरूमा देखिएको छ, जहाँ डस्टबिनको अभावले फोहोर बढ्दै गएको छ ।
सार्वजनिक स्थानमा प्रयोग हुने, सौर्य ऊर्जाबाट सञ्चालित र कचरा च्याप्न सक्ने प्रविधिसहितका डस्टबिन जडान गर्ने कम्पनी फोर्सटेक इन्कका प्रमुख कार्यकारी अधिकृत योहेई ताकेमुरा भन्छन्, ‘न्युयोर्क र पेरिस जस्ता विश्वका लोकप्रिय पर्यटकीय शहरहरूमा करिब ३० हजार वटा सार्वजनिक डस्टबिन रहेका छन् । तर टोकियोमा सार्वजनिक निकायद्वारा व्यवस्थापन गरिने डस्टबिनहरू प्रायः हराइसकेका छन् । केही निजी कम्पनीहरूले भने डस्टबिन जडान गरिरहेका छन् ।’
डस्टबिनको अभावबाहेक अन्य प्रमुख असुविधाहरूमा १५ दशमलव २ प्रतिशत पर्यटकहरूले भाषा तथा सञ्चारको समस्या उल्लेख गरेका छन् । धेरैजसो सेवाक्षेत्रका कर्मचारीहरू अंग्रेजी नबुझ्ने वा नबोल्ने हुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ । १३ दशमलव १ प्रतिशतले पर्यटकीय स्थानहरूमा भीडभाड अत्यधिक हुने गुनासो गरेका छन् । अध्यागमन प्रक्रियामा लामो समय कुर्नुपर्ने अवस्थाबारे पनि धेरैले असन्तुष्टि जनाएका छन् ।