समाचार सुन्नुहोस :
काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजबाट औपचारिक छलफल सुरु हुँदैछ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबारको संयुक्त संसद् बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्ताव पेश गरिने कार्यसूची तय गरिएको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, प्रतिनिधिसभाका सदस्यहरूले उक्त कार्यक्रममाथि संशोधन प्रस्तावहरू पेस गर्नेछन्। जसपछि छलफल प्रक्रिया अगाडि बढ्नेछ।
कार्यतालिकाअनुसार, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। यसैबीच, राष्ट्रियसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि नै प्रारम्भ भइसकेको छ। आजको दिनमा दुबै सदनमा नीति तथा कार्यक्रमका विभिन्न पक्षमाथि बहस हुने छ। राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।