काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई गिज्याउने र गाली गर्नेहरूको भविष्य अन्धकारमय हुने चेतावनी दिएकी छन् ।
काभ्रेको धुलिखेलमा आयोजित आफ्नो आत्मकथा करुणा विषयक विमर्श कार्यक्रममा बोल्दै उनले ओलीमाथि हुने आलोचना र व्यंग्यप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा व्याप्त नकारात्मक प्रवृत्तिबाट चिन्ता व्यक्त गरिन् । ‘जो-जो मान्छेहरूले आज केपी ओलीलाई गिज्याएर वा गाली गरेर खुशी मानिरहनुभएको छ, उनीहरू आफैंले आफ्नै खुट्टामा बञ्चरो हानिरहनुभएको छ,’ शाक्यले भनिन्, ‘त्यस्तो व्यवहारले उहाँहरूकै भविष्य अन्धकार बनाउँदै लगिरहेको मेरो विश्लेषण छ ।’
शाक्यका अनुसार सामाजिक सञ्जालमा आलोचना गर्ने प्रवृत्ति बढ्दो छ र त्यो प्रवृत्तिको ठूलो भाग ओलीमाथिको आलोचनामा केन्द्रित भएको देखिन्छ । ‘तर, त्यो गाली गरेर न त हामीलाई केही फाइदा हुन्छ, न त समाजलाई,’ उनले थपिन् ।
आफूहरू अब जीवनको उत्तरार्धमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले भोगेका राजनीतिक संघर्ष र दमनको प्रसंग पनि सुनाइन् । ‘हामीले पञ्चायतको दमन भोगेका छौं, आजको खुला वातावरणमा आलोचना गर्न पाइन्छ, तर त्यसको सीमा र मर्यादा हुनुपर्छ,’ शाक्यको भनाइ थियो।
उनले ओलीप्रति हुने आक्रमणको असर केवल आलोचकहरूमै सीमित नरहने उल्लेख गर्दै त्यसले आगामी पुस्ताको भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिइन् । राधिका शाक्यले हालै सार्वजनिक गरेको आफ्नो आत्मकथा ‘करुणा’मा व्यक्तिगत संघर्ष, राजनीतिक उतारचढाव र जीवनका विविध आयामहरू समेटिएको छ ।